आँखामा पट्टी बाँधेर साइकल चलाउने, किताब पढ्ने र सियोमा धागो हाल्ने जादुगर

भीडभाड भएको सडकको बीचबाट साइकलमा कोही मान्छे गइरहेको छ भने अचम्मको कुरा भएन।

तर, यदि त्यही मान्छे आँखामा यसरी पट्टी बाँधेर गइरहेको छ कि सास फेर्नका लागि उसको नाकको प्वाल मात्र खुला छ भने मानिसहरू अचम्मित हुन्छन्।

र, पट्टी पनि यस्तो कि पहिले आँखामा मुछिएको आटा छ, त्यसपछि त्यसमा कपास राखिन्छ र त्यसपछि विभिन्न प्रकारका पट्टीहरू यसरी बाँधिन्छ कि व्यक्तिले केही देख्न सक्दैन।

यस्तै एक साइकल चालक कुदा बक्स वा खुदा बक्स थिए। उनी अंग्रेजीमा आफ्नो नाम कुदा नै लेख्थे।

उनी सन् १९०५ मा कश्मीरमा जन्मेका थिए र १९३० र ४० को दशकमा इंग्ल्याण्ड र युरोपका सडकमा साइकल चलाएर प्रसिद्ध भए।

उनी आफू आँखाबिना देख्न सक्ने भएकाले यो गर्न सक्षम भएको दाबी गर्थे।

उनले आफ्नो जादुको उपलब्धिलाई ‘एक्स-रेवाला आँखा भएको’ मानिस भनेर प्रचार गर्थे। उनी आफ्नो अनौठो र अद्वितीय शैलीमा आँखामा पट्टी बाँधेर किताबको कुनै अंश पढेर र सियोमा धागो हालेर मानिसहरूलाई चकित पार्थे।

खुदा बख्सले आफ्नो ईश्वरीय क्षमताले धेरै पुस्तालाई चकित पारेका छन्। उनले रोल्ड डहलको १९७७ को कथा ‘द वन्डरफुल स्टोरी अफ हेनरी सुगर’ लाई पनि प्रभाव पारेको भनिन्छ, जसलाई अहिले वेस एन्डरसनले फिल्ममा रूपान्तरण गरेको छ।

बक्सको वास्तविक नाम कुदा बक्स थियो। उनी धनी परिवारमा जन्मिएका थिए। सन् १९५२ मा डहालसँगको एक अन्तर्वार्तामा उनले प्रोफेसर मूर भनेर चिनिने भारतीय जादुगरको जादुबाट यति प्रभावित भएको बताए कि उनी यो सिक्ने इच्छामा परे।

आफ्नो कमाल देखेको दुई दिनपछि तेह्र वर्षको उमेरमा उनी घरबाट भागे। प्रोफेसर मूरको शिष्य बन्न उनी कश्मीरबाट लाहोर पुगे। त्यसपछिका केही वर्षहरूमा उनले बर्मा (म्यानमार), सिलोन (श्रीलंका) र बम्बई (मुम्बई) यात्रा गरे र घुमन्ते जादुगरहरू, योगीहरू र थिएटर कलाकारहरूबाट जादु सिके।

नाम फेरे
उनले आफ्नो नाम प्रोफेसर केबी ड्युक राखे र त्यसपछि कुदा बक्स नाममा फर्किए। लेखक जोन जुब्रजिकीले आफ्नो पुस्तक ‘एम्पायर अफ एन्चेन्टमेन्ट : द स्टोरी अफ इन्डियन म्याजिक’ मा यी कुरा लेखेका छन्।

मे १९३५ मा उनी इंग्ल्याण्ड पुगे, जहाँ पूर्वी दुनियाँका जादुगरहरूको माग थियो। मानिसहरू उनको प्रदर्शन हेर्न चाहन्थे।

जुब्रजिकीले बीबीसीलाई भनेअनुसार त्यतिबेला भारतलाई जादुको देशका रूपमा हेरिन्थ्यो। यो भारत भ्रमण गर्ने पर्यटकहरू, मिसनरीहरू, व्यापारीहरू र इतिहासकारहरूको लेखनबाट बढेको विचार थियो। आफ्नो मनमोहक तर प्रायः अतिरञ्जित शैलीमा सडक वा अदालतहरूमा जादुगरका चालहरू हेरेको उनी बताउँछन्।

धेरै भारतीय जादुगरहरूले विदेशी जादुका कामहरूबाट लाभ उठाएका छन्, किनभने पश्चिमाले जादुका कुरा मन पराउँथे। र, खुदा ब्कस तीमध्ये एक थिए। यद्यपि, उनी अंग्रेजजस्तै लुगा लगाउँथे, उनले आफ्नो जादु शक्तिलाई पूर्वी ज्ञान र सुफीवादसँग जोडे।

इतिहासकार जोन बुथले जादुका कथाहरूमा आधारित पत्रिका द लिंकिङ रिङमा ब्खसको बारेमा लेख्दै उनलाई भारतीय उपमहाद्वीपका एक रहस्यमय मानिसको रूपमा वर्णन गरे, जो पेरिसमा आँखामा पट्टी बाँधेर साइकल चलाउने गर्थे, त्यहाँ सुफीजस्तो आभा थियो।

इंग्ल्याण्डमा खुदा बक्सले आफ्नो ‘एक्स-रेजस्तै आँखा’ को खेलबाट चाँडै प्रसिद्धि हासिल गरे। उनले आफ्नो जादुमा विश्वास नगर्ने मानिसहरूको ध्यान आकर्षित गरे र आफ्नो क्षमताको सत्यता जान्नका लागि उनीहरूबाट आफ्नो परीक्षा लिए।

जादुगरको परीक्षा
बेलायतका प्रख्यात ‘भूत सिकारी’ ह्यारी प्राइसले डाक्टरहरूको टोलीसँग मिलेर सन् १९३५ जुलाईमा खुदा बक्सको एक्स-रे दृष्टिको दाबीको परीक्षण गरेका थिए।

जुब्रजिकीले आफ्नो पुस्तकमा लेखेका छन् कि ह्यारी प्राइस सर्जिकल ब्यान्डेज, टाँसिने टेप, कपास प्याड र निट्ठा कालो कपासको दोहोरो मोटाइको ब्यान्डेज लिएर आइपुगे।

जब खुदा बक्सले प्राइस ब्यान्डेज लगाएर पुस्तकको केही अंश सफलतापूर्वक पढे, डाक्टरले उनको आँखामा फेरि पट्टी लगाए। यसपछि पनि खुदा बक्सले आफ्नो पछाडिको टेबुलमा राखिएको हस्तलिखित नोट पढिरहेका थिए।

सेप्टेम्बर १९३५ मा प्राइसले खुदा बक्सको अर्को परीक्षा लिए, जसले उनलाई इंग्ल्याण्ड र युरोप अधिकांश क्षेत्रमा थप प्रसिद्धि मिल्यो।

खुदा बक्सले सरेको ग्रामीण क्षेत्रमा आगोमा हिँड्ने कर्म गरे। यस्तो जादु इंग्ल्याण्डमा पहिलो पटक देखाइएको थियो। उनले डाक्टर, मनोवैज्ञानिक र पत्रकारहरूको उपस्थितिमा यो उपलब्धि हासिल गरेका हुन्।

परीक्षकहरूले खुदा बक्सलाई हरतरहले जाँचे र आगोमा हिँड्नुअघि र पछि पनि उनीहरूले खुदा बक्सले धोका दिने केही लगाएका थिए कि भनेर उनको खुट्टा र तलवाहरू जाँच गरे।

उनलाई परीक्षण गर्न एउटा खाडल खनेर काठ, कोइला, प्याराफिन र अखबारका टुक्राहरूले भरियो र आगो लगाइयो। केही घण्टापछि खाल्डोमा आगो बलिरहेको थियो।

खुदा बक्सले एक पटक होइन चार पटक दन्किरहेको आगोको खाडल पार गरे। प्राइसले आफ्नो पुस्तक ‘कन्फेसन्स अफ अ घोस्ट हन्टर’ मा उनको खुट्टामा छालाको निशान पनि नदेखिएको लेखेका छन्।

नौ दिनपछि अरू केही मानिसको उपस्थितिमा खदा बक्सले फेरि खाली खुट्टाले आगोको खाडल पार गरे, जसमा स्टिल राखेको भए पनि पग्लिन सक्थ्यो तर यसपटक पनि खुदा बक्सको खुट्टा सुरक्षित रह्यो।

जुब्रजिकी लेख्छन् कि बक्सको यो उपलब्धिपछि उनी यस अनुमानमा पुगे, शारीरिक र मानसिक शक्तिहरूबीच केही अस्पष्ट सम्बन्ध थियो जसले उनलाई चोटबाट सुरक्षित राख्न मद्दत गर्‍याे।

ध्यान केन्द्रित गर्ने अभ्यास
डाहलसँगको एक अन्तर्वार्तामा बक्सले दाबी गरे कि उनले यति धेरै ध्यान दिए कि आगोबाहेक केही देख्न सकेनन् र उनलाई आगो चिसो हुँदै गएको महसुस भइरहेको थियो।

उनको दाबी थियो कि उनको भित्री हेर्ने क्षमताले उनलाई ‘एक्स-रे दृष्टि’ को जादुहरू प्रदर्शन गर्न मद्दत गर्दछ। एक योगीले उनलाई सानै उमेरमा सिकाएको ध्यान केन्द्रित अभ्यासबाट उनले यो अनुभूति हासिल गरे।

मनको पूर्ण एकाग्रता भनेको मैनबत्तीको ज्वालाको कालो दागमा हेरिरहनु थियो जबसम्म उसको वरिपरिका सबै चीजहरू आझेलमा पर्दैनन् र उसले आफूले धेरै माया गरेका व्यक्तिको अनुहार पूर्ण रूपमा देख्न सक्छ, अर्थात् आफ्नो भाइको अनुहार।

धेरै वर्षसम्म हरेक रात मैनबत्तीको अभ्यास गरिसकेपछि खुदा बक्सले २४ वर्षको उमेरमा महसुस गरे कि यदि उनले आफ्नो आँखा बन्द गरे र कुनै कुरामा एकाग्रतासाथ ध्यान दिए भने उनी जे हेरिरहेका छन् रूपरेखा अस्पष्ट, धुमिल रूपमा देख्न सक्छन्।

उनी भन्थे कि उनी आफू २८ वर्ष पुग्दा आँखामा पट्टी बाँधेर किताब पढ्न सक्थे।

बक्सको दाबीलाई चुनौती दिइएन भन्ने होइन। एनको कथित एक्स-रे खेलको अध्ययन गरेका केही व्यक्तिहरू उनले नाकको वरिपरि हेर्दै गरेको निष्कर्षमा पुगे। यसका बावजुद उनको लोकप्रियतामा कुनै असर नपरेको खुदा बक्सबारे आलेख लेखेकी क्याटलिन रेनी मिलर बताउँछिन्।

जादुगर बिल लार्सनले ‘जेनी’ पत्रिकामा लेखेका छन् कि हजारौं मानिसहरू उनको शो हेर्न आउँथे, जबकि प्रेसले उनलाई ‘शताब्दीको आश्चर्य’ र ‘विश्वको आठौं आश्चर्य’ घोषणा गरेको थियो।

अन्तिम दिनहरू अमेरिकामा तास खेलेर बिताए
खुदा बक्सलाई रिप्लेको ‘बिलिभ इट अर नट’ को पहिलो टेलिभिजन कार्यक्रममा प्रस्तुत गरिएको थियो। उनले आफ्नै टिभी शो ‘खुदा बक्स : हिन्दू योगी’ पनि सुरू गरेका थिए।

बक्सको कार्यक्रम यति कायल पार्ने खालको थियो कि त्यसले मानिसहरूलाई उनी वास्तवमै ‘आँखाबिना देख्न सक्छन्’ भन्ने विश्वास दिलायो।

बुथले बक्सको प्रेसले व्यापक रूपमा प्रचार गरेको कसरी बक्सको एउटा कार्यक्रममा प्रदर्शन गर्ने तीन महिला कलाकारहरूमा त्रास पैदा भयो भन्ने दाबीबारे लेखे।

बक्सले आफूले इँटाको पर्खालबाट हेर्ने अभ्यास गरेको र यही कारणले महिलाहरूले आफूबाट टाढा ड्रेसिङ रूम मागेको दाबी गरेका थिए।

उनले अरू र आफूबीच केवल एउटा इँटाको पर्खाल मात्रै रहेको गुनासाे गरे।

अन्ततः उनले लन्डन छाडे र अमेरिका गए, जहाँ उनले हलिउडको प्रसिद्ध क्लब म्याजिक क्यासलसहित धेरै स्थानहरूमा प्रदर्शन जारी राखे।

सन् १९८१ मा क्यालिफोर्नियाको लस एन्जलसमा खुदा बक्सको निधन भयो। उनले आफ्ना अन्तिम दिनहरू म्याजिक क्यासलमा जादुगरहरूसँग तास खेल्दै बिताए।

बुथले लेखेका छन् कि उनलाई त्यसबेला मात्र पराजित गर्न सकिन्थ्यो जतिबेला उनले आँखामा पट्टी नबाँधेका हून्।

-बीबीसी हिन्दीबाट अनुदित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *