दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई भन्यो- टिकटक तत्काल बन्द गर
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई सामाजिक सञ्जाल टिकटक तत्काल बन्द गर्न निर्देशन दिएको छ।
त्यसको नगरे कारबाही गरिने चेतावनीसमेत प्राधिकरणले दिएको छ।
प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो।
प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने पनि जनाएको छ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले टिकटकबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ अनुसार सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसके पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा अझै पहुँच पुगिरहेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको हो।
प्रधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन/आदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुन सक्ने व्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ।’
प्रतिक्रिया