उर्लाबारी आगलागीमा घाइते भएका १० जनालाई सेनाको विमानबाट काठमाडौं ल्याइयो

मोरङको उर्लाबारी नगरपालिका-७, वरगाछीस्थित सुन पसलमा आगलागीमा परी घाइते भएका १० जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

उनीहरूलाई नेपाली सेनाको विमानमार्फत बुधबार काठमाडौं ल्याइएको हो। उनीहरूलाई कीर्तिपुरको बर्न अस्पताल भर्ना गरिएको छ।

उर्लाबारीस्थित एउटा सुन पसलमा आगलागी भई ग्यास सिलिण्डर विष्फोट हुँदा आइतबार राति ४ प्रहरीसहित २८ जना घाइते भएका थिए। आगलागीमा परेर घाइते भएकामध्ये पाँच जनाको स्वास्थ्य अवस्था जटिल देखिएको थियो।

राति साढे १० बजे भएको घटनामा घाइतेमध्ये उर्लाबारी नगरपालिका वडा नम्बर ७ का कुमार तामाङ, शिवकुमार विक, सुमन चौधरी, कैलाश गुरूङ, रामनरेश मरिकको स्वास्थ्य अवस्था गम्भीर रहेको थियो।

घाइतेहरूमध्ये १२ जनाको झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको थियो।

त्यसमध्ये १० जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *