लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले सबैलाई जोड्ने काम गरेको छ : उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहुवेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको बताएका छन्।

तिहार पर्व-२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै उनले यो पर्व सामाजिक, सांस्कृतिक र धार्मिक परम्परालाई अक्षुण राख्ने मौलिक संस्कृतिको महत्त्वपूर्ण पाटो रहेको र यस अवसरमा बालिने प्रकाशले सबै खराब आचरण, व्यवहार, विचारलाई त्याग्न उत्प्रेरित गर्ने बताए।

यसले आफूभित्रको अँध्यारो पक्षलाई तिलाञ्जली दिँदै व्यक्तिलाई स्वच्छ र नैतिकवान बन्ने सन्देश पनि दिने उनको विश्वास छ।

अत्यन्तै हर्षोल्लासका साथ मनाइने दीपावली नेपालको दोस्रो ठूलो महान पर्व हो। प्रकाशमय यो पर्वको आध्यात्मिक सन्देश भनेको अन्धकारमाथि प्रकाश शक्ति र अज्ञानतामाथि ज्ञान शक्तिको विजयलाई दर्शाउनु हो। यो पर्वमा देवी लक्ष्मीको पूजाआराधना गरे धन, समृद्धि र सफलता प्राप्त हुने एवम् दरिद्रताको नाश हुने जनविश्वास रहिआएको छ।

यो पर्वअन्तर्गत धनतेरस, नरकचतुर्दशी, काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गाई पूजा, गोवर्द्धन पूजा, म्हः पूजा र भाइटीका (भातृ द्वितीया) पर्दछन्।

यो पर्व मनाउने तयारी धेरै पहिलेदेखि घर, पसल र कार्यस्थल सफा सुग्घर गर्दै सुरू हुन्छ । धेरैले यो पर्वका अवसरमा आ-आफ्नो घरआँगन सजाउन रङ्गीचङगी फूल, रङ्गोली र झिलिमिली बत्तीको प्रयोग गर्छन् । कुकुर, काग, गाई, गोरुको पूजा गर्ने, लक्ष्मी पूजा गर्ने, देउसीभैलो खेल्ने, हुक्का लोली (हुक्कापात्ती) खेल्ने, हुर्राहुर्री खेल्ने र कुस्ती प्रतियोगिता गर्ने, दाजुभाइ-दिदीबहिनीबीचको सम्बन्धलाई बलियो बनाउन भाइटीका (भातृ द्वितीया) मनाउने, मिठाई बाँड्ने, एकअर्कालाई दीपावलीको शुभकामना आदानप्रदान गर्ने परम्परा परापूर्वकालदेखि रहिआएको छ।

उपराष्ट्रपति यादवले ‘विविधतामा एकता’ को सन्देश सञ्चार गर्ने हाम्रा चाडपर्वहरूको सारतत्त्व एवम् उद्देश्य समाज र देशमा सामाजिक एकता, धार्मिक सहिष्णुता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, भाइचारा, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्नु नै हो पनि भनेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *