पुस्तक बिक्रीबाट उठेको रकमले मन्त्री किरातीले वितरण गरे चेपाङ समुदायलाई न्यानो कपडा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङ्केट) वितरण गरेका छन् । इच्छाकामना गाउँपालिका-१, सप्रेनीका १६ चेपाङ परिवारलाई उनले दुई-दुई ब्ल्याङ्केट वितरण गरेका हुन् ।

सोमबार आयोजित कार्यक्रममा उनले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जानकारी दिँदै चेपाङ जातिको भाषा र संस्कृति जोगाउन आवश्यक रहेको बताए ।

‘चेपाङ समुदाय मागेर खाने समुदाय मात्र होइन,’ उनले भने, ‘चेपाङ संस्कृति पर्यटन र आयआर्जनसँग जोडेर देशलाई संमृद्धि बनाउने समुदाय पनि हो ।’ सरकारले अल्पसंख्यक, सीमान्तकृत जनजातिको भाषा, संस्कृति संरक्षणका लागि विषेश प्राथमिकता दिने उनको भनाइ थियो ।

मन्त्री किरातीले चेपाङ संस्कृति जोगाउन अतुलनीय योगदान पुर्‍याएबापत भोटेबहादुर चेपाङ र बाबरी चेपाङलाई नगद पाँच-पाँच हजार रूपैयाँसहित सम्मान गरे । सो अवसरमा भोटेबहादुर चेपाङले ढ्याङ्ग्रो बजाएर मन्त्री किरातीलाई आफ्नो संस्कृति देखाएका थिए ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले चेपाङको अवस्था र इच्छाकामनामा पर्यटन सम्भावनाका बारेमा जानकारी दिएका थिए । मन्त्री किरातीले इच्छाकामनाका चेपाङ समुदायलाई लक्षित गरेर पर्यटनका ‘प्याकेज’ का कार्यक्रम ल्याउने जानकारी दिए । मन्त्री किरातीले चेपाङ समुदायसँग देउसीभैलोसमेत खेले ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *