सयपत्री कतार निर्यात भएपछि किसान उत्साहित

तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन् । आँबुखैरेनी-१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको सयपत्री कतार निर्यात गरिएको हो ।
गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीको समन्वयमा पहिलो चरणमा तीन सय सयपत्रीको माला कतार पुर्‍याइएको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भने, ‘यो गाउँपालिकाका लागि नै खुसीको कुरा हो । गाउँपालिकाको सहयोगमा पहिलो पटक सयपत्री खेती गरिएकामा कतारसम्म निर्यात भएको छ ।’ पहिलो चरणमा प्रतिमाला एक सय ५० रूपैयाँका दरले कतार पठाइएको छ ।
अरू बेला पनि सयपत्री निर्यात गर्ने बारेमा छलफल भइरहेको अध्यक्ष चुमानले बताए । फूलखेती विदेश निर्यात हुँदा यहाँका किसानमा आशा पलाएको उनको भनाइ छ ।  अध्यक्ष चुमानले भने, ‘पहिलो पटक तीन ठाउँमा खेती गरियो, अब यसलाई विस्तार गर्ने योजना छ ।’
गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरूत्साहित गरेको छ । गाउँपालिकाले पालिकाभित्रै उत्पादित फूललाई बढावा दिने जनाएको छ । गाउँपालिकाले चालु आवदेखि अनुदानको कार्यक्रम अगाडि बढाएको छ । सोहीबमोजिम तीन ठाउँमा सयपत्री फूलखेती सुरु गरी उत्पादन भइसकेको छ । उत्पादन भएको सयपत्री बिक्रीका लागि बजारीकरण गर्न सहयोग गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख केसीले बताए ।
गाउँपालिकाले स्थानीय कृषि उपज वस्तु बिक्री वितरणका लागि आँबुखैरेनी-३ मा हाटबजार सञ्चालनमा ल्याएको छ । उक्त हाटबजार प्रत्येक शुक्रबार सञ्चालन हुने गरेको छ । गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै र आमा समूहमा अध्यक्षसँग कृषि कार्यक्रममार्फत् फूलखेतीका लागि सहयोग गरेको थियो ।
गाउँपालिकाका कृषि शाखा प्रमुख केसीका अनुसार तिहारमा सयपत्री फूल प्रतिकिलो पाँच सय रूपैयाँसम्म बिक्री भइरहेको छ । स्थानीय स्तरमा किलोको दुई सय रूपैयाँसम्म बिक्री गरिँदै छ । यस्तै एउटा माला ८० रूपैयाँसम्ममा बिक्री भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *