कृषि बीमा : हर्ष न बिस्मात !

किन घटिरहेका छन् कृषि पेसा गर्ने परिवारहरू ?

कृषि गणना, २०७८ ले नेपालको कुल ७०.४ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेको जनाएको भए पनि कृषि बीमा गर्ने परिवार केवल ४.४ प्रतिशत मात्र रहेको जनाएको छ ।

अघिल्लो कृषि गणनामा कृषिलाई आफ्नो आम्दानीको मुख्य स्रोत मानेका परिवारको संख्या ८३.१ प्रतिशत रहेकोमा १० वर्षको अन्तरालमा १२.७ प्रतिशतले घटेर ७०.४ प्रतिशत पुगेको छ । यसरी कृषिलाई आफ्नो आम्दानीको मुख्य स्रोत मान्ने परिवारको संख्या घट्नु भनेको कृषि पेसालाई छोड्ने परिवारको संख्या बढिरहेको तथ्यांकले देखाउँछ ।

किन घटिरहेका छन् कृषि पेसा गर्ने परिवारहरू ?
कृषि गणना, २०६८ मा खेतीपाती गर्ने परिवारको संख्या ३७ लाख १६ हजार रहेकामा २०७८ मा त्यो संख्या बढेर ३९ लाख ९९ हजार पुगेको छ । पशुपालनतर्फ हेर्ने हो भने कृषि गणना, २०६८ मा १ लाख १६ हजार परिवारले पशुपालन गरेको देखिन्छ भने २०७८ मा १ लाख ३२ हजारले पशुपालन गरिरहेको तथ्यांक देखिन्छ ।

माथि प्रस्तुत गरिएको तथ्यांक हेर्ने हो भने तुलनात्मक रूपमा कृषि र पशुपालन गर्ने परिवारको संख्या बढेको देखिए पनि कृषि तथा पशुपालनमा लागेका परिवारमध्ये ४५ प्रतिशत परिवारलाई मात्र आफ्नो उत्पादनले वर्षभरि खान पुग्ने तथ्यांक कृषि गणना, २०७८ ले देखाएको छ ।

नेपालका किसानहरूका थुप्रै जोखिमहरू छन् जसमध्ये मुख्यतया खेतीयोग्य जमिनलाई लिन सकिन्छ । नेपालको तथ्यांकहरूलाई हेर्ने हो भने पछिल्लो ६० वर्षमा खेतीपाती गर्ने परिवारको संख्या १६८ प्रतिशतले बढेको देखाउँदछ । भोगचलन गर्ने जमिन केवल ३२ प्रतिशतले बढेको देखिन्छ । नेपालको सन्दर्भमा अझ टुक्रे जमिनहरू भएका कारण पनि कृषि पेसामा जोखिम रहेको छ ।

कृषि गणनामा पशुन्छी मात्र पाल्ने र चार आनासम्मको जमिनमा खेतीपाती गर्नेलाई पनि कृषि पेसामा आबद्ध परिवार मानेकोले संख्याको हिसाबले कृषि पेसामा आबद्ध परिवारको संख्या बढेको बताए पनि वास्तविकता त्यो होइन ।

अधिकांश पहाडी किसानहरूको खेतीपाती आकासे पानीको भरमा रहने, कहिले सुक्खा, कहिले अतिवर्षा, हावाहुरी, असिना तथा पहिरोजस्ता जलवायुजन्य प्राकृतिक विपत्ति नेपालका किसानहरूको ठूलो समस्या हो ।

जोखिम न्यूनीकरणका लागि कृषि बीमा
निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषितर्फ आकर्षित गर्न र कृषि क्षेत्रको जोखिमलाई न्यूनीकरण गर्न बीमा समितिले वि.सं.२०६९ बाट बाली तथा पशुपन्छी बीमा निर्देशन, २०६९ मार्फत नेपालमा कृषि बीमा सुरू गरेको देखिन्छ ।

कृषि क्षेत्रलाई विस्तार एवं प्रवर्द्धन गर्ने, व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने र सम्भावित जोखिम न्यूनीकरणमा सहयोग गर्ने, कृषि क्षेत्रमा लगानीलाई प्रोत्साहित गर्ने, कृषिमा निजी तथा सहकारी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्ने, कृषि उत्पादनलाई प्रोत्साहित गरी आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यका साथ सुरू गरिएको कृषि बीमा सुरू भएको करिब एक दशक भइसक्दा केवल ४.४ प्रतिशत परिवारले मात्र कृषि बीमा गर्नुले कृषि बीमा कृषकका लागि हर्ष न बिस्मातजस्तो भएको तथ्यांकले देखाउँदछ ।

कृषि बीमाभित्र के छ ?
नेपाल सरकारले कृषि तथा पशुपन्छी बीमातर्फ किसानलाई आकर्षित गर्न २०७० साउन १ गतेदेखि कृषि तथा पशुपन्छी बीमाको बीमा शुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको थियो । २०७१ साउन १ गतेदेखि अनुदान बढाएर ७५ प्रतिशत पुग्यो भने आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा अनुदान घटाएर ५० प्रतिशत पुर्‍याइए पनि २०७८ असोज ७ गतेदेखि लागू हुने गरी अनुदान वृद्धि गरी ८० प्रतिशत पुर्‍याएको छ अर्थात् हामीले कृषि तथा पशुपन्छीको बीमा गर्नुपरेमा बीमा शुल्कको ८० प्रतिशत सरकारले तिरिदिन्छ भने किसानको भागमा केवल २० प्रतिशत दायित्व रहन्छ ।

अझ सुदूरपश्चिमको हकमा ८० प्रतिशत अनुदान संघीय सरकारको तर्फबाट र बाँकी २० प्रतिशत अनुदान सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट व्यहोर्ने हुँदा किसानहरूले केवल सेवा शुल्कबापतको केही रकम बीमा कम्पनीलाई तिरे कृषि तथा पशुपन्छी बीमा करिब-करिब निःशुल्कजस्तै हुन्छ भन्दा फरक नपर्ला । अझ बीमाको अवधिमा बीमितको निधन भएको खण्डमा बीमित व्यक्तिको पनि २ लाख रूपैयाँ बराबरको बीमा गरिएको हुन्छ ।

कृषि बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारी तथा गैरसरकारी निकायहरूबाट प्रशस्त प्रयासहरू भए पनि कृषि तथा पशुपन्छी बीमा प्रभावकारी हुन नसक्नुका पछाडि केही कारणहरू रहेको देख्न सकिन्छ ।

कृषि बीमा किन गर्ने ? यसका फाइदाहरू के-के छन् ? यी र यस्ता विषयहरूका बारेमा किसानहरू अनभिज्ञ रहेको देख्न सकिन्छ । समुदायस्तरसम्म कृषि बीमाको बारेमा जानकारी दिन सकिएको छैन भने जानकारी प्राप्त गरेको समुदायसम्म सेवा प्रदायक बीमा कम्पनीहरूको उपस्थिति छैन । जीवन बीमा कम्पनीको तुलनामा निर्जीवन बीमा कम्पनीमा बीमा अभिकर्ताहरू आकर्षित हुन नसक्दा समुदायस्तरमा कृषि बीमा गर्न चाहेर पनि बीमा गर्न सकिरहेका छैनन् ।

परशुराम नगरपालिका वडा नं. १० का किसान अर्जुनबहादुर बोहरा कृषि तथा पशुपन्छीहरूको बीमा गर्न समुदाय इच्छुक भए पनि समुदायमा बीमा अभियानकर्ता सहजै नभेटिएका कारण आफूलगायत छिमेकीहरू पशु बीमाबाट वञ्चित भइरहेको तीतो अनुभव सुनाउँछन् ।

२०६९ सालमा कृषि बीमा सुरू गर्दा ४ वटा कृषि बीमालेखबाट सुरू भएको कृषि तथा पशुपन्छी बीमा, २०७८ को कृषि गणनासम्म आइपुग्दा उल्लेख्य प्रगतिसम्म पुग्न नसके पनि बिस्तारै आकर्षित हुँदैछन् भन्ने कुरालाई नकार्न सकिँदैन ।

पछिल्लो समय हावापानीमा आइरहेको परिवर्तनसँगै खेतीपातीमा देखिन थालेको विभिन्न किसिमका जलवायुजन्य नकारात्मक असरहरूको जोखिमबाट केही हदसम्म भए पनि बच्नका लागि कृषि बीमालाई व्यापक बनाउन आवश्यक छ । हाल कृषि बीमामा रहेका केही प्राविधिक जटिलताहरूलाई फुकाई सहज बनाउन आवश्यक देखिन्छ । यसो गर्न सकिएन भने कृषि बीमा किसानका लागि हर्ष न बिस्मात हुने निश्चित देखिन्छ ।

सरकारी पक्षबाट कृषि बीमाका लागि शतप्रतिशत अनुदान दिँदा पनि किसानहरू कृषि बीमातर्फ खासै आकर्षित हुन नसकेको कृषि ज्ञान केन्द्र डडेलधुराका पूर्वकार्यालय प्रमुख रामचन्द्र भट्ट बताउँछन् । प्रचारप्रसारको कमी र प्रक्रियागत झन्झटका कारण किसानहरू कृषि बीमातर्फ आकर्षित हुन नसकेका हुन् कि भन्ने उनलाई लाग्छ । गत वर्ष कृषि ज्ञान केन्द्रमा जम्मा ९ जनाले बाली बीमाबापतको अनुदानका लागि आवेदन भरेको देखिन्छ ।

यद्यपि, कृषि ज्ञान केन्द्र डडेलधुराका नवनियुक्त कार्यालय प्रमुख खेमराज पनेरू आफ्नो पदस्थापनपश्चातको पहिलो बैठकमै बीमा कम्पनीहरूसँग कृषि बीमालाई सहज रूपमा सर्वसाधारणसम्म पुर्‍याउन अनुरोध गरेको बताउँछन् ।

स्राेत : गणेशबहादुर मगर, डडेलधुरा/आईएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *