आजदेखि कोरला नाका सञ्चालनमा आउँदै

मुस्ताङको कोरला नाका आजदेखि दुवैतर्फबाट सञ्चालनमा आउने भएको छ ।

आज विहान १० बजे दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा माथिल्लो मुस्ताङका दुई स्थानीयहरुलाई लक्षित गरी नाकाको उद्घाटन गर्न लागेका हुन् । चीन सरकारले अहिलेलाई माथिल्लो मुस्ताङका स्थानीयलाई मात्र लक्षितगरी नाका सञ्चालन गर्न लागेको हो । चिनियाँ पक्षले कोरला नाकामा निर्यातका लागि सामग्रीहरु ल्याएको छ ।

चीन सरकारको सहयोगमा अस्थायी भन्सार कार्यालय र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) का लागि आवश्यक पर्ने अस्थायी पूर्वाधार निर्माण गरिएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरुको अनुरोधमा अस्थायी संरचना निर्माणका लागि चीन सरकारले पाँचवटा कन्टेनर उपलब्ध गराएको छ ।

नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको हो । नाकामा आवतजावतका लागि एक महिनाअघि अनुमतिपत्र वितरण गरिएको थियो ।

अनुमतिपत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधरणहरु कोरला नाकामा आवतजावत गर्न पाउने छन् । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रवेश अनुमतिपत्रका आधारमा कोरला नाकादेखि ३० किलोमिटर चीनको भू–भाग सम्म पुगेर जुनसुकै समयमा व्यावसायिक कारोबार गर्न पाउने बताए ।

कोरोना महामारीका कारण चार वर्ष देखी बन्द उक्त नाका अहिले खुल्ला हुन लागेको हो ।नाका सञ्चालनमा आएपछि माथिल्लो मुस्ताङका सर्वसाधरणहरुले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, इलोक्ट्रोनिक सामग्री, लत्ताकपडालगायत आयात गर्न पाउने छन् भने यताबाट पस्मिना, कृषि उत्पादन र यार्सागुम्बाको निर्यात हुने बताइएको छ ।

यसअघि कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर