नेपाल संवत् कुनै जाति विशेषको हैन, यसप्रति सबै नेपालीले गौरव गर्नुपर्छ : अध्यक्ष बज्राचार्य
नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति-११४४ का अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्यले विश्वमै देशको नाममा स्थापित संवत् नेपाल संवत् मात्र भएको र यो नै यस संवत्को विशेषता भएको बताएका छन्। राष्ट्रिय समाचार समिति (रासस) का नायब महाप्रबन्धक राजु शाक्यलाई दिएको अन्तर्वार्तामा अध्यक्ष बज्राचार्यले भने, ‘नेपाल संवत् देशकै नामबाट स्थापित छ, यो गौरवको कुरा हो। तर यसको अनुभुति सबै नेपालीले गर्न पाएका छैनन् किनभने यसको राष्टिय स्तरमा पचार हुन पाएको छैन। नेपालले सगरमाथाको देश, बुद्धको देश, सीताको देश भनेर मात्रै हैन, गौरवका साथ आफ्नै संवत् नेपाल संवत्लाई पनि हामीले विश्वमै चिनाउनु पर्छ।”
२०५६ मंसिर २ (नेसं ११२० कौलाथ्व दशमी) मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूतिको मान्यता दियो। त्यस्तै, २०६५ कात्तिक ७ (ने.सं ११२८ कौलागा दशमी) मा २०६२/६३ को जनआन्दोलनको बलमा बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको हो। त्यसपछि, हुलाक टिकट तथा पत्रपत्रिकामा समेत नेपाल संवत् उल्लेख हुन थाल्यो।
नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिइसकिए पनि यसलाई अझै व्यापक बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले भने, ‘सबै जनताले यो संवत् साझा हो भनेर अपनत्व ग्रहण गर्न दिन सरकारले नै नीतिगत व्यवस्था गर्नुपर्छ। सरकारले केही माग सम्बोधन त गरेको छ तर, जति आवश्यक हो त्यो गर्न सकिरहेको छैन।’
वैज्ञानिक समय तालिकासहितको यस संवत्को धार्मिक तथा सामाजिक जीवनमा दैनिक रुपमा प्रयोग त भई आएको छ, यसलाई सरकारको दैनिक कामकाजमा पनि अपनाउन सकिए सरकारले राष्ट्रिय मान्यता दिएको सार्थक हुनेछ र विश्वमै छुट्टै अस्तित्वसहित नेपाल संवत् चिनिने छ। कर्मचारीतन्त्रले यो संवत्माथि विश्लेषण नै नगरी व्यवहारमा लागू गर्न कठिन छ भनिदिँदा चाहेर पनि यसलाई व्यवहारमा उतार्न नसकिएको धारणा उनी राख्छन्।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाल संवत् लागू गर्ने वचन दिएको तर कार्यान्वयन हुन नपाएको स्मरण गर्दै उनले भने, ‘कर्मचारीहरुसँग नम्र निवेदन छ पूर्वाग्रह नराखी यसबारे अध्ययन गरिदिनोस्। जहाँ जहाँ दुविधा हुन्छ, अन्य पात्रोहरुको सहयोग लिए भइहाल्यो।’ यो सवत्लाई मन्त्रिपरिषद्को बैठक पुस्तिकामा प्रयोग गरिदिन उनले सरकारसँग आग्रह पनि गरे।
सामान्यतया राजा महाराजाबाट संवत् स्थापना गर्ने चलन थियो। कोही कोही धर्मभीरु व्यक्तिले पनि संवत् स्थापना गर्न सक्दछ। अध्यक्ष डा। बज्राचार्यका अनुसार शंखधर साख्वाः एक आमनागरिक थिए र उनको राज्य सत्तामा कुनै पहुँच थिएन। आफूलाई प्राप्त भएको अपार सम्पत्तिबाट उनले सर्वसाधारणको क्रृण मोचन गरिदिए र संवत् चलाउने उनको इच्छालाई तत्कालीन राजाले सहर्ष स्वीकारिदिए। त्यसकारण एक नागरिकले देशको नाममा स्थापना गरेको यस संवत्प्रति सब नेपालीले गर्व गर्नुपर्छ भन्ने मत उनी राख्छन्।
बौद्ध विद्वान डा। बज्राचार्य कतिपय पुराना अभिलेखहरुमा शंखधरकृत संवत् भनेर उल्लेख भएको पाइएको बताउनुहुन्छ। प्राचीन हस्तलिखित ग्रन्थ प्रज्ञापारमिता र पंचरक्षा जस्ता बौद्ध ग्रन्थ, ताडपत्र, भोजपत्रहरुमा नेपाल संवत् उल्लेख गर्ने प्रचलन तात्कालीन समयमा व्याप्त थियो। यस अतिरिक्त बौद्ध मन्दिर, स्तूप, चैत्य, पाटी स्थापना गर्दा पनि नेपाल संवत् उत्कीर्ण गर्ने गरिन्छ।
नेवार समुदायमा नेपाल संवत् प्रारम्भ भएको दिन म्हःपूजा पनि गर्ने गरिन्छ। यस सम्बन्धमा अध्यक्ष बज्राचार्य भन्छन्, ‘नेपाल संवत् प्रारम्भ भएकै दिन म्हःपूजा गर्ने गरिए पनि त्यसको संस्मरणमा म्हःपूजा गरिएको हो भन्ने मलाई लाग्दैन। नेपाल संवत् प्रारम्भ हुनुभन्दा अघिदेखि नै म्हःपूजा गर्ने चलन थियो होला। बुद्ध र हिन्दू दुबै धर्मले ध्यान वा साधना गर्दा आफ्नो शरीरलाई ठूलो स्थान दिने गर्दछन्।’
सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मैदानको एक छेउमा भेटिएको एक शिला तत्कालीन शहरको सिमाना मानिएको छ। यही सिमानामा बसेर शङ्खधरले क्रृणमुक्त गरिदिएको जनविश्वास रहिआएकाले शङ्खधर कथाका पात्र मात्रै हुन् वा ऐतिहासिक व्यक्तित्व नै हुन् भन्ने यथार्थ केलाउनुपर्ने आवश्यकता रहेको उनी औँल्याउँछन्। उनको जीवनसँग जोडिएको ठानिने एक पाटी (लँकू फः) काष्ठमण्डपको पश्चिम दक्षिण दिशामा अवस्थित छ।
संस्कृतको ‘त्रि अह’ बाट तिहार शब्द बनेको हो। तीन दिनसम्म मनाइने तिहार पर्वलाई लम्ब्याएर ‘यमपञ्चक’ भनेर पाँच दिन पनि मनाइन्छ। नेपाल भाषाको ‘स्वन्ति’ शब्दले तीन दिनकै अर्थ दिन्छ। उनका अनुसार भारतको गुजरातमा म्हःपूजाकै दिन नयाँ वर्ष मनाउने चलन छ। यहुदीहरु पनि यही दिन नयाँ साल प्रारम्भ भएको मान्छन् भन्ने सुनिएको छ। नेपालमा पनि माघ सङ्क्रान्तिका दिन नयाँ वर्ष मान्ने चलन आदिवासी थारु समुदायमा छ।
हरेक वर्ष म्हःपूजाका दिन काठमाडौँको बसन्तपुरबाट नव वर्ष नेपाल संवत् प्रारम्भ भएको खुशियालीमा बृहत् र्याली निकालिन्छ। विगतमा नेपाल संवत्लाई सरकारबाट राष्ट्रिय संवत्को मान्यता दिनुपर्ने माग बुलन्द गर्न यस्तो र्याली निकालिन्थ्यो र त्यसमा प्रहरीबाट हस्तक्षेप पनि हुन्थ्यो र पक्रेर लगिन्थ्यो। विसं २०२२ मा रेडियो नेपालबाट नेपाल भाषाका कार्यक्रम प्रसारण गर्न रोक लगाइएपछि प्रेमबहादुर कंसाकार, भुवनलाल प्रधान, माणिकलाल श्रेष्ठहरुले भाषा र संवत्को नारा अघि सारेर अभियान थालेका थिए।
कालान्तरमा नेपाल भाषा मंकाः खलः र विशेषगरी मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरले यसलाई आन्दोलनको रुपमा अघि बढाएर अगुवाइ गरेका थिए। कुनै बेला पद्मरत्नसँग महेन्द्र पुलिस क्लबमा आफू पनि थुनिन पुगेको स्मरण सुनाउँदै उनी अहिले आएर यो र्याली नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने सांस्कृतिक पर्वमा परिनत भएको छ भन्छन्।
नेपाल संवत् १११८ (विसं २०५४) मा तत्कालीन सञ्चारमन्त्री कमल थापाको पालामा नेपाल संवत्लाई सञ्चार माध्यममा ठाउँ दिने काम भयो। यसै वर्ष नेपाल संवत् ११४३ को केही महिना अघिदेखि रेडियो नेपालबाट साल, महिना र दिनसमेत बिहानी प्रसारणबाट प्रस्तुत हुन थालेको छ। यसअघि कार्यक्रम प्रस्तोताबाट साल मात्रै वाचन भइआएको थियो। यसै वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा एक विद्वत गोष्ठी सम्पन्न भयो।
इतिहासकार डा। त्रिरत्न मानन्धरबाट नेपाल संवत्बारे र संस्कृतिविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठबाट शङ्खधर साख्वाःबारे उक्त गोष्ठीमा कार्यपत्र प्रस्तुत भएका थिए। लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. बज्राचार्यले न्हूदँ समारोह समितिबाट ने.सं. ११४३ मा भएका दुई महत्वपूर्ण कामको स्मरण यसरी गरे।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट नेपाल संवत्प्रति सम्मान दर्शाउँदै त्यसलाई व्यावहारिक प्रयोगमा ल्याउने सिलसिलामा नेपाल सरकारको सूचना विभागबाट प्रकाशन हुने आधिकारिक क्यालेण्डरमा नेपाल संवत् समावेश गर्न थालियो भने नेपाल संवत्कै नामबाट विदा घोषणा गर्ने निर्णय गरी राजपत्रमा सूचना प्रकाशित गरिएको थियो।
नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरिएपछि यसलाई सम्मान दिन, व्यवहारमा प्रयोगमा ल्याउन र तत्काल राष्ट्र प्रमुख वा सरकारी निकायहरुबाट प्रयोगमा ल्याइने लिखित दस्तावेजहरुमा कानून निर्माण गरी प्रयोग ल्याउन नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले सरकारको ध्यान आकृष्ट गर्दैआएको छ। नेपाली मुद्रा र नोटमा नेपाल संवत्को प्रयोग गर्न, नेपाल संवत् अनुसन्धान प्रतिष्ठान स्थापना गर्न, नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः र नेपाल संवत्बारे विद्यायल र क्याम्पस स्तरमा पाठ्यक्रममा व्यवस्था गर्न पनि न्हूदँ समारोह समितिले सरकारसँग माग गरेको छ।
तिथिमिति गणनामा अन्योल सिर्जना भइरहेको सम्बन्धमा उनी चाड मान्ने विषय भने मुहूर्त हेरेर निर्णय लिन नहुने धारणा राख्छन्। सूर्य उदय हुँदा जुन तिथि छ, काम नसकुज्जेल वा दिनभरलाई त्यही तिथि मानेर चाड मान्ने परम्परा काठमाडौँका नेवार समुदायले अपनाइसकेको बताउँदै उनले भने, ‘गणितीय हिसाबले ठीक जँचेता चाडमा त्यसलाई अवलम्बन गर्न आवश्यक छैन। आममानिसको सुविधा र व्यावहारिक पक्षलाई ध्यान दिइए मात्र त्यो पुस्ता पुस्तामा हस्तान्तरण भएर जान सजिलो हुन्छ।’
यो वर्ष कात्तिक २८ गते नव वर्ष नेपाल सवत् ११४४ को आरम्भ भएको खुशियालीमा काठमाडौँ वसन्तपुरबाट बिहान बृहत् सांस्कृतिक र्याली निकालिँदै छ भने बेलुकी म्हः पूजा हुनेछ।
प्रतिक्रिया