गोरखामा आगलागीमा परी आमाछोराको मृत्यु

गोरखामा आगलागीमा परेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको धार्चे गाउँपालिका-१, हुच्लचोकस्थित एक घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ७५ वर्षकी कान्छी गुरूङ र उनका छोरा ३९ वर्षका चन्द्रसिंह गुरूङ रहेका छन् । जस्ताले छाएको गुरूङको एकतले घरमा अचानक राति आगलागी भएको थियो । घटनाको जानकारी प्राप्त भएलगत्तै जगत प्रहरी चौकीबाट खटिएका प्रहरीको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका प्रनाउ श्रेष्ठले बताए ।

आगो पूर्ण नियन्त्रणमा आएपछि घरभित्र खोजी गर्दा दुई जनाको शव जलेर चिन्नै नसकिने अवस्थामा भेटिएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

घरमा आगलागी भएको खबर थाहा पाउने बित्तिकै घटनास्थलमा पुगेर स्थानीयवासीले निभाउने प्रयास गरे पनि करिब दुई घण्टापछि मात्र आगो नियन्त्रणमा आएको स्थानीयवासीको भनाइ थियो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आरूघाटबाट प्रहरी निरीक्षक नरबहादुर साउदको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलतर्फ पठाइएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

आगलागीको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । चिसोका कारण न्यानो बनाउन घरभित्र बालिएको आगोबाट सल्किएर घरमा आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *