सेनाको भैरव वाहन गुल्ममा मनाइयो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चकको दोस्रो दिन आज मुलुकभर नरक चतुर्दशी र कुकुर तिहार मनाइएको छ । परम्परागत रूपमा आजका दिन नरक चतुर्दशी मनाउन स्थानीय धारा, पँधेरा, कुवा, खोला वा नदीमा नुहाएर तोरण टाँगी टपरीमा दियो बाली नर्के बगाइन्छ भने भैरवको बहानका रूपमा कुकुरलाई पूजा गरी मिठो खाना खुवाइन्छ ।

हिन्दू परम्पराअनुसार कुकुरलाई यमलोकका राजा यमराजको दूतका रूपमा पनि लिने गरिन्छ । कुकुरलाई आदेशपालक, कर्तव्यनिष्ठ, अनुशासित र सुरक्षा दिने जनावरका रूपमा लिइन्छ । आज घरघरमा कुकुरलाई माला लगाई पूजा गरी मीठो खाना दिइएको छ ।

यसैबीच नेपाली सेनाको भक्तपुरको सानोठिमीस्थित भैरव वाहन गुल्ममा आज ७२ वटा कुकुरलाई एकसाथ पूजा गरिएको छ । सो अवसरमा तालिमप्राप्त कुकुरबाट विभिन्न ‘सैनिक डग कला प्रदर्शनी’ तथा सांस्कृतिक प्रस्तुति गराइयो । नेपाली सेनाका सहायक रथी विष्णु खड्काको उपस्थितिमा भएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न निकायका प्रमुख र नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो ।

गुल्मपति सेनानी गणेश अधिकारीले उक्त गुल्मभित्र सेनाको जिम्मेवारी, अतिविशिष्ट व्यक्तिको सवारी र कार्यक्रमपूर्व त्यहाँ हुन सक्ने सम्भावित दुर्घटनाबारे सूचना सङ्कलनका लागि कुकुरहरूको परिचालन, विभिन्न घटनामाथि त्यहाँ रहेका तालिमप्राप्त कुकुरहरूको प्रयोगबाट हुने अनुसन्धानको विधि र प्रक्रियाबारे जानकारी गराएका थिए । उक्त गुल्म २०६० साल वैशाख १ गते स्थापना भएको थियो ।

सो गुल्मले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा समेत कुकुर प्रयोग गर्दै आएको छ । हराएका हतियार फेला पार्न, बेपत्ता भएका नागरिकको खोजतलास, भूकम्प तथा प्राकृतिक प्रकोपमा हराएका वा पुरिएका व्यक्तिको खोजतलासमा पनि कुकुरको प्रयोगबाट सफलता मिल्दै आएको छ ।

यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरहरूको पनि आज सामूहिक रूपमा पूजा गरी मीठो खाना खुवाइएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *