पूर्वी नवलपरासीमा जीप दुर्घटनामा मृत्यु भएका ६ मध्ये ४ जनाको सनाखत

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका-९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चारको परिचय खुलेको छ ।

बौदीकाली गाउँपालिका, माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका-९, गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरूषको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीप चालक बौदीकाली-६, माझडाँडाका २६ वर्षीय बहादुर आलेमगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका-४, चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

मृतकमध्ये दुई जनाको अझै परिचय खुल्न सकेको छैन । जीपमा सात जना सवार थिए । दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका-२, मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *