काठमाडौंका यी चार स्थानमा बेचिँदै छ स्वदेशी फूल-माला, महानगर प्रहरीले बिक्रीस्थल पुर्याउँदै छ किसानलाई
काठमाडौं महानगरपालिकाले तिहारका लागि फूलमाला बिक्री गर्न चार स्थान तोकेको छ । आइतबारदेखि ती स्थानबाट फूल बिक्री गर्न सुरू गरिएको छ ।
महानगर प्रहरी बलको सवारी साधनमा राखेर विभिन्न ठाउँमा रहेका किसानलाई सामनसहित तोकिएको बिक्रीस्थलमा पुर्याइँदैछ । तिहारलक्षित फूल र माला लिएर बेच्न आएका किसानहरू नयाँ सडकसहित सहरका विभिन्न ठाउँमा पुगेका थिए । उनीहरूलाई बिक्रीस्थल थाहा नभएकाले सवारी साधनमा राखेर बिक्री स्थलमा पुग्न सहयोग महानगर प्रहरीले सहयोग गरेको हो ।
सवारी साधनमा फूल राख्न तथा झार्नका लागि नगर प्रहरी बलका जनशक्तिले सघाएका छन् । यस क्रममा नयाँ सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डप सारिएको छ । यसबाट नयाँ सडक क्षेत्रको सवारी आवागमन खुकुलो भएको छ ।
‘काठमाडौं महानगरपालिका, नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सको संयुक्त प्रयासमा बिक्रीस्थलबाट मात्र फूल बेच्ने प्रबन्ध मिलाइएको हो । प्रदर्शनीमार्गको भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्रांगणमा फूल बेच्ने ठाउँको प्रबन्ध मिलाइएको छ,’ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले भने, ‘हामीले नेपाली फूल उत्पादकलाई फूल बेच्न अवरोध गर्दैनौं । नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिनेछ ।’
किसानलाई स्वदेशी उत्पादन बिक्रीका लागि तोकिएको स्थानमा ल्याउन आग्रह गर्दै प्रमुख शाहले उपभोक्तालाई महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा आएर स्वदेशी फूल र माला खरिद गर्न अनुरोध गरेका छन् ।
तोकिएका स्थानमा नेपाली फूलहरू मात्रै बिक्री गरिनेछ । यसका लागि महानगरपालिका, नेपाल फ्लोरिकल्चर एसोसिएसन र चेम्बर अफ कमर्सको संयुक्त टोलीले अनुगमन गर्नेछ ।
प्रतिक्रिया