सडक मर्मतका क्रममा पहिरोले पुरिएर डोजर चालकको मृत्यु

कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालकको मृत्यु भएको छ । करिडोरअन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका-१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको चालकको मृत्यु भएको हो ।

कर्णाली करिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेका बेला माथिबाट चट्टानसहित खसेको पहिरोमा पुरिएर कालिकोट पचालभरना गाउँपालिका-८, खडितोलीका ३० वर्षीय धीर सज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले जानकारी दिए ।सडक फराकिलो गरिरहेकाबेला माथिबाट खसेको पहिरोले पुरिएर डोजर चालकको मृत्यु भएको उनको भनाइ थियो ।

‘माथिबाट चट्टान खसेको चालकलाई केही जानकारी/सङ्केत नै भएन । एक्कासी चट्टान खसेपछि भाग्नसक्ने अवस्था भएन,’ थापाले भने, ‘चालकको घटनास्थलमा मृत्यु भएको छ ।’ पहिरोले डोजर पुरै पुरिएकाले घटना शुक्रबार बेलुकाको भए पनि १८ घण्टापछि आज बिहान मृतकको शव निकालिएको उनले जानकारी दिए ।

‘हिजो रात परेकाले अरु पहिरो खस्ने खतरा हुनसक्ने देखिएपछि शव निकाल्न सकिएको थिएन,’ थापाले भने, ‘बिहान उज्यालो भएपछि शव निकालेर परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।’ पहिरोले अहिले कर्णाली राजमार्ग अवरूद्ध रहेको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *