जो चटपटे बेचेरै छोरालाई इन्जिनियरिङ पढाउँदैछन्
सर्लाही बरथवा-८ मा जन्मिएका मोतीराम साह उमेरले ४५ वर्षका भए । गरिब परिवारमा जन्मिएका मोतीरामको बाल्यकाल निकै दुःखमा बित्यो । ‘घरमा दुईवटा भैंसी थियो त्यही चराएर बस्थेँ, स्कुल पढाउन सक्ने हैसियत परिवारको थिएन,’ मोतीराम भन्छन्।
आफू १२ वर्षको हुँदा बुबाको मृत्यु भएपछि त मोतीरामको जीवनमा कहालीलाग्दो दुःख सुरू भयो । घरको जिम्मेवारी मोतीरामको काँधमा आइपुग्यो ।
घर चलाउनका लागि १४ वर्षको उमेर पनि नपुग्दै मोतीराम खेतमा काम गर्न भारतको पञ्जाब पुगे । खान-बस्न दिएर महिनाको एक हजार भारू तलब तर त्यति कमाउनु पनि सानो कुरा भने थिएन।
‘उमेरसँगै काम र तलब पनि बढ्दै गयो। पञ्जाबमा आठ वर्ष काम गरेपछि बल्ल गाउँमा आफ्नो घर बन्यो, एक बिघा जमिन जोडियो । मोतीराम भन्छन्, ‘पञ्जाबमा गरेको मेहनतले मेरो परिवारको स्थिति उकासियो । मैले गाउँमा घर बनाएँ । एउटा घर पनि नभएको सुकुम्वासी भनेर हेप्ने गाउँका छरछिमेकी र आफन्तको मुखमा बुझो लाग्यो ।’
त्यसपछि २०५३ सालमा मोतीराम साहले विवाह गरे । पञ्जाबको संघर्ष सकियो, अब काठमाडौं आएर अर्को संघर्ष सुरू भयो । साथीको सहयोगमा काठमाडौंमा पानीपुरी, चटपटेको व्यापार सिक्न थाले । मोतीराम भन्छन्, ‘सुरू-सुरूमा कहिले नून बढी हुने, कहिले पिरो बढी हुने। २२ वर्षअगाडि मैले काम थाल्दा साह्रै सोझा। नून, पिरो बढी भएन, अरू जे-जस्तो भए पनि खान्थे तर अहिले त अलिक नून, बढी पिरो बढी या चित्त बुझेन भने त फालिदिन्छन् ।’
२२ वर्षअगाडि पानीपुरी प्लेटको १० रूपैयाँमा बेचेका मोतीरामले अहिले समयअनुसार रेट बढाउँदै ४० रूपैयाँ पुर्याएका छन् । ‘महँगी साह्रै बढ्यो । तर मैले क्वालिटी (गुणस्तरीय) सामान मात्र दिन्छु,’ मोतीराम भन्छन् ।
सुरूका दिनमा ७० देखि १०० प्लेटसम्म पानीपुरी, २० देखि ३० प्लेट चटपटे बेचेको मोतीरामलाई सम्झना छ । मोतीराम भन्छन्, ‘अहिले त्यति व्यापार छैन नि, पहिले दिनको ३ हजार, ३५ सयभन्दा धेरै कमाई हुन्थ्यो । तर अहिले दिनको १५ सयमा चित्त बुझाउनु परेको छ ।’
काठमाडौंको जोरपाटीमा पहिलो चटपटे पसल हो मोतीरामको । उनका पुराना ग्राहक फर्कीफर्की आउँछन् । ग्राहक सन्तोष भन्छन्, ‘म १० वर्षको उमेर हुँदादेखि उहाँले बनाएको चटपटे, पानीपुरी खाँदै आइरहेको छु । मलाई अरूले बनाएको खान मन लाग्दैन । खै के जादू छ कुन्नि, उहाँले बनाएको साह्रै मन पर्छ ।’
अर्की ग्राहक निमा भन्छिन्, ‘मलाई त उहाँले बनाउने गरेको शैली नै मन पर्छ । सरसफाइमा निकै ध्यान दिनुहुन्छ । म त हरेक दिनजसो आएर एक-दुई प्लेट पानीपुरी खाएर जान्छु ।’
उनी पानीपुरी तथा अन्य खानाको स्वच्छतामा धेरै ध्यान दिन्छन् । ‘पानीपुरीमा मिसाउने झोलमा जारको पानी नै मिसाउने हो । मोतीराम भन्छन्, ‘ग्राहक भगवान् हुन । जब मलाई खान नपुग्ने अवस्था थियो तब यही व्यापारले मलाई यहाँ ल्याएको हो । त्यसैले आफ्ना पुराना दिनहरू पनि बिर्सन चाहन्नँ ।’
मोतीराम त्यस्ता चटपटेवाला हुन् जो चटपटे र पानीपुरीको तयारी पूरा भएपछि सबैभन्दा पहिला आफ्ना छोराछोरी र श्रीमतीलाई चखाउँछन् अनि आफू खान्छन् र मात्र बेच्न थाल्छन् ।
मोतीराम भन्छन्, ‘ग्राहकको विश्वास र पैसा दुवै कमाएँ यसबाट । ४ सन्तानमध्ये दुई छोरीको विवाह पनि यसैको कमाइले गरेको हो । अब एक छोरा र छोरी छन् । तिनीहरूको भविष्य राम्रो बनाउने हो । छोरालाई यसैको कमाइले इन्जिनियरिङ पढाइराखेको छु । छोरा ठूलो भएपछि हाकिम भनेर अरूले सलाम ठोकेको हेर्न मन छ ।’
स्रोत : रूपेश आचार्य/आईएनएस-स्वतन्त्र समाचार
प्रतिक्रिया