विपद्को पूर्वतयारीबारे धुलिखेलमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने भएको छ । आउँदो डिसेम्बर १-३ अर्थात् मङ्सिर १५ देखि १७ गतेसम्म धुलिखेल सामुदायिक अस्पतालमा सम्मेलनको आयोजना गरिने भएको हो ।

सम्मेलनमा विभिन्न मुलुकका विपद्का विशेषज्ञ सहभागी हुने र तीन दिनसम्म विश्वका विभिन्न मुलुकमा भएका विपद् पूर्वतयारीका विषयमा बृहत् छलफल हुने जनाइएको छ ।

छलफलपछि विपद् पूर्वतयारी तथा व्यवस्थापनका नयाँ विधि एवं तरिका धुलिखेललगायत नेपालका अन्य अस्पतालमा अपनाइने सम्मेलनको पूर्वतयारीस्वरूप अस्पतालमा भएको सरोकारवालासँगको छलफलमा आयोजक समितिका संयोजक प्रो डा बलराम मल्लले बताए ।

उनका अनुसार प्रकोप, त्यसको असर तथा आघात, आपतकालीन उद्धार तथा त्यसको सञ्चार, प्रकोपमा हेरचाहको बिन्दु अर्थात् विभिन्न तयारी, अन्तर विभाग, अन्तर अस्पताल र सञ्चार समन्वयबारे बृहत् छलफल हुनेछ ।

सम्मेलनमा सामरिक चिकित्सा, उपचारका लागि आवश्यक पर्ने अन्य उपकरण तथा सामग्री, सङ्क्रमण रोकथाम र नियन्त्रण, अस्पतालमा हुने नेतृत्वदायी भूमिका तथा निर्देशन र संयोजन, प्रकोपमा नेतृत्व, विपद् व्यवस्थापन अनुभव साझेदारी, अभ्यास तथा प्रकोपमा औषधिको व्यवस्थापन र सूचना सञ्चार, सङ्क्रामक रोगको प्रकोप, ठूलो भूकम्प, विमान दुर्घटना, अस्पतालको भवन भत्किएको अवस्थामा उपलब्ध गराउनुपर्ने स्वास्थ्य सेवा तथा अन्य प्रकोपमा खेल्नुपर्ने भूमिकाबारेमा बृहत् छलफल हुने जनाइएको छ ।

सम्मेलनमा विभिन्न देशका विशेषज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । छलफलमा विसं २०७२ को भूकम्पमा एकैपटक चार हजारभन्दा धेरै बिरामीको उपचार गराएको अनुभव तथा अभ्यासका आधारमा अस्पतालले सुरू गरेको विपद् पूर्वतयारीबाट ठूला घटनामा स्वास्थ्य संस्थाले अपनाउनुपर्ने पूर्वतयारी र सरोकारवालाको भूमिकाका बारेमा सम्मेलन महत्वपूर्ण हुने बताइयो ।

सम्मेलनले हुनसक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी योजनासमेत निर्माण गर्ने जनाइएको छ । अस्पतालले काभ्रेपलाञ्चोकको केही स्थानबाहेक अन्यत्रबाट विपद्को केही घण्टामै बिरामी अस्पताल ल्याउँदा सहज रूपले उपचार गर्न सक्नेगरी तयारी गर्नेगरी तयारी गरिरहेको जनायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *