प्रहरीले एकैपटक फिर्ता बोलायो ५८ जना पीएसओ
प्रहरी प्रधान कार्यालयले एकैपटक ४५ जना नेता तथा अवकाशप्राप्त पदाधिकारीहरूको सुरक्षामा खटिएका ५८ जना व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) फिर्ता गरेको छ । नियमविपरीत यस्तो सुविधा लिइरहेका उनीहरूका पीएसओ फिर्ता गरिएको हो ।
यसरी पीएसओ फिर्ता गरिएकाहरू प्रभावशाली नेताहरू छन् । मापदण्डअनुसार खटिने समय सकिएको र उनीहरूलाई पीएसओ आवश्यक नभएको निष्कर्षका आधारमा फिर्ता गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हालै संसद्को राज्य व्यवस्था समितिले पनि विवरण माग्दै नियमविपरीत खटिएका सुरक्षाकर्मी हटाउन निर्देशनसमेत दिएको थियो । सोही निर्देशनलाई समेत आधार बनाई मापदण्डअनुसार नपरेकाको हकमा फिर्ता गरिएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले बताए ।
यसरी पीएसओ तानिनेमा पूर्वगृहसचिवदेखि पूर्वसभामुखसम्म छन् । पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वउपप्रधानमन्त्रीहरू ईश्वर पोखरेल, उपेन्द्र यादव, सुजाता कोइराला, गोपालमान श्रेष्ठ, रघुवीर महासेठ तथा राजेन्द्र महतोको सुरक्षामा खटिएका प्रहरीहरू फिर्ता गरिएका हुन् । कोइरालाको सुरक्षामा एक जना तथा अन्यको दुई जना खटिएका थिए । पूर्वसभामुखले पदबाट हटेको तीन वर्षसम्म तथा अन्यले दुई वर्षसम्म पीएसओ सुविधा पाउने व्यवस्था छ । त्यसविपरीत उनीहरूले सुरक्षा लिँदै आएका थिए ।
पूर्वमन्त्रीहरू गोकुलप्रसाद बाँस्कोटा, गिरिराजमणि पोखरेल, बिना मगर, खड्गबहादुर विश्वकर्मा, गगनकुमार थापा, महेश बस्नेत, मणिचन्द्र थापा, प्रभु साह, लेखराज भट्टका पीएसओ पनि हटाइएको छ । पूर्वमन्त्रीहरू सुरेन्द्र पाण्डे, राम कार्की, पार्वत गुरूङ, जुलीकुमारी महतो, शिवमाया तुम्बाहाम्फे, पद्माकुमारी अर्याल, हृदयेश त्रिपाठी, गणेशसिंह ठगुन्ना, प्रदीप ज्ञवाली, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, विमलप्रसाद श्रीवास्तव, एकवाल मियाँ, उमाशंकर अरगरिया, नैनकला थापा, वसन्तकुमार नेम्वाङ, लीलानाथ श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धर, आशाकुमारी विकको पनि फिर्ता गरिएको छ । पूर्वमन्त्रीले पनि पदबाट हटेको दुई वर्षसम्म मात्र पीएसओ पाउने सुविधा छ ।
त्यस्तै पूर्वअर्थराज्यमन्त्री तथा हाल लुम्बिनी विकास कोषको सदस्यसचिवमा नियुक्त भएका ल्यारक्याल लामाको पनि फिर्ता भएको छ । पूर्वसांसद रेशम चौधरीको पनि नियमविपरीत भएकाले फिर्ता गरिएको प्रहरीले जनाएको छ । पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त गणेशराज जोशी, लोक सेवा आयोगकी पूर्व सदस्य वृन्दा हाडा, लोक सेवा आयोगका पूर्वसदस्य अशोककुमार झा, पूर्वगृहसचिव महेश्वर न्यौपानेको पनि फिर्ता गरिएको छ ।
त्यस्तै स्वर्गीय पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ तथा पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको घरमा पनि सुरक्षाकर्मी कार्यरत रहेकाले उनीहरूलाई पनि फिर्ता गरिएको छ ।
फिर्ता गरिएकामध्ये केहीले भने प्रहरी नेतृत्वलाई दबाब दिएर फिर्ता गराउने प्रयास गरिरहेका छन् । केहीलाई साँच्चिकै सुरक्षा जोखिम देखिएमा भने फिर्ता गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया