नेपालमा लगानी बढाउन एसिया-प्रशान्त क्षेत्रका लगानीकर्ताहरूलाई अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन, आईसीटी, औषधि र जडीबुटी क्षेत्रमा लगानी बढाउन एसिया-प्रशान्त क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् ।

एसिया-प्रशान्त चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री परिसंघको आज काठमाण्डौंमा सुरू ३७ औं सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन आग्रह गरेका हुन् ।

नेपाली अर्थतन्त्रले ठूला प्राकृतिक प्रकोप र विश्वव्यापी आर्थिक धक्कालाई थेगेर वृद्धितर्फ उन्मुख रहेको बताउँदै अध्यक्ष ढकालले आत्मविश्वासका साथ लगानी बढाउन सकिने समय आएको बताएका हुन् । पर्याप्त विदेशी मुद्रा सञ्चिति र बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेकाले लगानिकर्तारूका लागि जोखिम कम हुँदै गएको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

नेपालको जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णय र बंगलादेशको आर्थिक वृद्धिले जलविद्युतको प्रचुर बजार सिर्जना भएको उल्लेख गर्दै अध्यक्ष ढकालले जलविद्युत परियोजनामा लगानीका अवसर छोप्नुपर्ने समय आएको बताए ।

यसैगरी विश्वस्तरीय होटेल र विमानस्थललगायत पर्यटन पूर्वाधार बनिसकेकोले पर्यटन बजारले थप निजी लगानी खोजिरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । बढ्दो पर्यटन बजारका लागि केबलकार, रिपोर्ट, थिम पार्क, हिल स्टेसन र ठूला होटेल लगायतका पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।

नेपालले निर्यात बजार विस्तार गरिरहेको र विभिन्न मुलुकहरूसँग सहुलियतपूर्ण व्यापार सम्झौताहरूसमेत भएकाले निर्यात केन्द्रित लगानी बढाउन पनि अध्यक्ष ढकालले लगानीकर्ताहरूको ध्यानाकर्षण गराए ।

नेपालले दक्षिण एसिया, एसिया प्यासिफिक क्षेत्र र त्यसभन्दा बाहिर भौतिक पूर्वाधार र डिजिटल कनेक्टिभिटी विस्तार गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले डिजिटल अर्थतन्त्रको विकासमा साझेदारीका लागि समेत आग्रह गरे ।

महासंघले लगानीका अवसरहरूको खोजी गर्न र लगानीमा हुने अवरोध हटाउन लगानीकर्ताहरूलाई सहयोग गर्न तयार रहेकोतर्फ पनि अध्यक्ष ढकालले विश्वस्त रहन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर