गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए । आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यको १०५ नम्बर बुँदामा भनिएको छ, ‘औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको समभाव्यता अध्ययन गरिनेछ ।’

कार्यदललाई दुईवटा विषय म्यान्डेट दिइएको छ । कार्यदलले गाँजालाई औषधिका रूपमा उपयोग गर्ने विधि र गाँजाबाट औद्योगिकीकरणको सम्भावनाबारे अनुसन्धान गर्नेछ । गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्नेछ ।

मन्त्री डा. महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो । कार्यदलले काम सुरू गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थमन्त्री डा. महतले निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *