आरके शर्मा नेतृत्वको एनआरएनएको टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्रकुमार शर्मा नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सहयोग पुर्‍याउन प्रस्थान गरेको छ ।

एनआरएनए टोली भूकम्पपीडितहरूका लागि त्रिपाल, कम्बल, औषधिलगायतका आवश्यक सामग्रीसहित जाजरकोट प्रस्थान गरेको संघका महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए ।

यसअघि शनिबार जुममार्फत एनआरएनएका पदाधिकारी तथा विभिन्न अभियन्ताहरूले विपद् सहायता कोषका लागि सहयोग रकम घोषणा गरेका थिए, जसमा अध्यक्ष शर्माले २१ लाख, महासचिव सुवेदीले १९ लाख, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले १७ लाख, निवर्तमान अध्यक्ष कुल आचार्यले ५ लाख ५५ हजार ५ सय ५५ सहयोग गर्ने घोषणा गरेका थिए । अहिलेसम्म झन्डै १ करोड संकलन भइसकेको कोषाध्यक्ष ढुंगानाले जानकारी दिए ।

भूकम्प प्रभावित क्षेत्रको राहत वितरण तथा उद्धार कार्यमा सरकारलाई सघाउने उद्देश्यले भूकम्प प्रभावित क्षेत्रमा विज्ञसहितको टोली लिएर आफूहरू प्रस्थान गरेको अध्यक्ष शर्माले जानकारी दिए ।

सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरणलगायतका कामहरू गर्ने बताएकाले सरकारी निकायसँग समन्वय गरेर नै आफूहरूले काम गर्ने पनि अध्यक्ष शर्माले बताए । यसअघि अध्यक्ष शर्माले आउँदो दुई वर्षभित्र १० करोडको विपद् सहायता कोष बनाउने घोषणा गरेका थिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *