सांसदलाई १५ दिनको मात्रै तलब दिए पुग्ने अवस्था देखियो : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसद्को वर्षे अधिवेशनमा सांसदहरूलाई पन्ध्र दिनको मात्रै तलब दिँदा पुग्ने अवस्था देखिएको बताएका छन्। दिन गुजारेको हिसाबले करिब ६ महिनाको तलब लिए पनि कामको परिणामको हिसाबले १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था देखिएको बताएका हुन्।

महामन्त्री शर्माले सांसदलाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रूपमा पर्याप्त काम गर्न नसकेको स्वीकार गरे। उनले संसद्को वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छीपना र प्रमुख प्रतिपक्ष एमालेको आवेगपनले पनि काम गरेको बताए। उनले उपलब्धिका दृष्टिले संसद्को वर्षे अधिवेशन कमजोर देखिए पनि अनुभव भने प्रशस्त भएको र त्यसले संसद्को आगामी अधिवेशनहरूलाई चाहिँ अझ प्रखर, प्रभावकारी, परिणाममुखी र उपलब्धिमूलक बनाउनुपर्ने आत्मा बोध भएको पनि पटक पटक दोहोर्याए।

महामन्त्री शर्माले भने, ‘हामी यो संसदीय परिपाटीलाई व्यवस्थालाई परिमार्जन गर्ने र अवस्थालाई परिवर्तन गर्ने भन्ने मनोविज्ञानमा छौँ । त्यसमा दृढ छौँ । व्यवस्थालाई परिमार्जन गर्ने सन्दर्भमा पनि परिमार्जित सुसंस्कृत व्यवहारहरू हामीले यस बिचमा प्रस्तुत गरेका छैनौँ संसद्मा। म अमुक दललाई, अमुक सरकारलाई भनिराख्ने कुरा भन्दा पनि समग्रतामा भन्दै गर्दा खेरी त्यो ढङ्गको सन्देश प्रवाह गर्न हामी सफल भएनौँ । कतिपय बेला संसद्मा रोष्टमहरु एकले अर्कोलाई खसाल्ने ढङ्गले प्रयोग गर्यौं । कतिपय बेला सांसदलाई बहसको थलो, बैचारिकताको थलो बनाउने भन्दा पनि घटना पिच्छे अवरोध गर्ने, सांसदलाई चल्नै नदिने । अनि त्यसपछि निर्णयको खोजी गर्ने। यो कर्म गर्यौं । कतिपय बेला संसद्मा कोरम नपुगेर पनि हामीले सांसदलाई गुजारिदियौ।’

उनले बहसका लागि छलफल शुरु हुँदा त्यसमा घनिभूत छलफल समेत हुन नसकेकाे बताए।

‘कतिपय बेला आवेगहरु पनि प्रस्तुत गर्यौं । कतिपय बेला हामीले रोष्टममा उभिएर तिक्त हुने खालको अभिव्यक्तिहरु पनि राख्यौं । यस हिसाबले चाहिँ यो बितेर गएको सांसदलाई एउटा सांसदको रूपमा म आत्मा आलोचना पनि गर्दछु । हामीले यसलाई प्रभावकारी र परिणाममुखि बनाउन नसकेकोमा । तर सगैमा फेरी के हो भन्दाखेरी कोही बेला कस्तो हुन्छ भने सूरुवात एकदमै राम्रो भएर गयो । तर पछाडि परिणाम नराम्रो आउने पनि हुन्छ । त्यसैले यो संसद्को अवधि पाँच वर्षको हो । यो पहिलो किस्ता जे छ। यसबाट आत्मा आलोचित हुनुपर्ने, केही सिक्नुपर्ने, पहिलो किस्ताबाट केही करेक्सनको सन्दर्भमा आत्मा बोध गर्नुपर्ने कुराहरू भएको छ’ उनले भने।

उनले थपे ‘अनुभवको हिसाबले महत्त्वपूर्ण हुँदाहुँदै पनि उपलब्धिको हिसाबले धेरै महत्त्वपूर्ण भयो भन्ने मलाई लाग्दैन । यद्यपि अव मैले भन्न त्यति नमिल्ला । तर मान्छेले जति काम गर्छ । कामको परिणाम अनुसार यदि पारिश्रमिक दिने हो भने दिन गुजारेको हिसाबले २, ४, ६ महिनाको तबल प्राप्त गर्नु एउटा कुरा हो । लिनु एउटा कुरा हो । तर, त्यो समयमा बिचमा तिमीले परिणाम देशका सामुन्ने के पस्कियौँ भन्ने कोणबाट चाहिँ छुट्टाएर तलब दिनुपर्यो भने केवल १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था देखिएको छ।  त्यस कारण यो प्रकारको संसद् चलाउने कुरा सरकारले आफूलाई करेक्सन गर्नुपर्छ।’

उनले सांसदलाई पर्याप्त बिजनेस दिएर सरकार जानुपर्नेमा जाेड दिए। ‘जुन विधेयकहरू पाईपलाईनमा बसेका छन्। त्यसलाई टुङ्ग्याउने अबको दिनमा जानुपर्छ । प्रतिपक्षले हरेक विषयमा संसद् अवरुद्ध गर्ने र आवेगबाट चल्ने त्यसले चल्दैन’, उनले भने।

पुराने भन्ने दलको पनि उही शैली र नयाँ भनिएका दलहरूको पनि उही शैली, सरकारको उही अल्छीपना अनि प्रतिपक्षको पनि आवेगपनले संसदीय परिपाटीलाई बलियो नबनाउने उनकाे भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *