राष्ट्रपतिको युरोप भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत, अरू के-के छन् निर्णय ?
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटलीको भ्रमण स्वीकृत गरेको जानकारी दिएकी हुन् ।
उनले भनिन्, ‘राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सोपश्चात संघीय गणतन्त्र जर्मनी र इटलीको भ्रमण गर्न २०८० साल कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मंसिर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको छ ।’
यस्तै उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई छैटौं चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन चीन जान स्वीकृति दिनेलगायत अन्य निर्णय गरेको जानकारी दिइन् ।
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरू :
-छैटौं चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई स्विकृति दिने
-कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित परियोजना/आयोजनाका लागि २६१ राजपत्रांकित पदहरूको स्थायी दरबन्दी स्वीकृत गर्ने
-कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण व्यावसायीकरणलगायतका विषयमा नेपाल सरकार र गणतन्त्र कोरियाबीच हुने समझदारीपत्र स्वीकृत गर्ने
-पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषदले गर्नुपर्ने काम गर्नको लागि पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद ऐन, २०७९ बमोजिम समिति गठन गर्ने
-निमा तामाङको नाममा झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने ।
प्रतिक्रिया