युनिफर्ममै कुटाकुट गर्ने तारा एयरका दुई पाइलटकाे लाइसेन्स निलम्बित

रामेछाप विमानस्थल प्रमुख समेत निलम्बित

युनिफर्ममै कुटाकुट गर्ने तारा एयरका दुई पाइलटको लाईसेन्स निलम्बित गरिएको छ । नागरिक उड्डयन प्राधिकरण-क्यानले राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म तारा एयरका दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरेको छ।

क्यानले शुक्रबार सूचना निकाल्दै घटनाको अनुसन्धान पुरा नहुँदासम्मका लागि उनीहरुको उडान अनुमतिपत्र निलम्बन गरेको जनाएको हो ।

यस्तै रामेछाप विमानस्थल प्रमुख अशोक थापालाई पनि क्यानले निलम्बन गरेको जनाएको छ । उनी बिरुद्ध समेत अनुसन्धान हुने क्यानले जनाएको छ ।

 

रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटबिच कुटाकुट भएको छ । शुक्रबार बिहान तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबिच विमानस्थलमै कुटाकुट भएको हो । क्याप्टेन सन्तोष शाह आज बिहान ८ बजे सोलुको लुक्लाबाट जहाज लिएर मन्थली विमानस्थलमा अवतरण गरेका थिए भने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानको लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै थिए ।

लुक्लावाट मन्थली आएका क्याप्टेन शाह जहाजवाट ओर्लिएर बाहिर निस्केर हिँड्दै गर्दा जहाज भएको ठाउँतर्फ अर्का क्याप्टेन श्रेष्ठ जादै थिए । दुईजनाको भेटमा क्याप्टेन शाहले अर्का क्याप्टेन श्रेष्ठ सँग हात मिलाउन खोज्दा श्रेष्ठले शाहलाई एक चड्कन गालामा हानेर धकेलिदिएपछि क्याप्टेन शाह भुइँमा बजारिन पुग्दा सामान्य घाइते भएका छन् ।

उक्त घटनापछि क्याप्टेन श्रेष्ठले जहाज लिएर लुक्लातर्फ उडेका छन् भने शाह कानुनी उपचारको लागि शाहविरुद्ध निवेदन लिएर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । क्याप्टेन शाहले आफुलाई विना कारण क्याप्टेन श्रेष्ठले हात हालेको भन्दै आवश्यक कारवाहीको लागि निवेदनसहित कार्यालयमा आएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुलीले जानकारी दिए। घटनावारे थप अनुसन्धान र सोधपुछ गरिरहेको उनले बताए ।

 

दुई पाइलटबिच के कारणले कुटाकुट भएको यस वारेमा आफुलाई केही जानकारी नभएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख अशोक थापाले जानकारी दिए । उनले भने–घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली बिमानस्थलमा ग्राउण्डेट गरिएको छ भने लुक्ला पुगेका श्रेष्ठलाई पनि लुक्ला यएरर्पोटमै ग्राउण्डेट गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *