आममाफी बदरसँगै पक्राउ परे रिगल

बाँकी कैद मिनाहा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन्।

उनलाई नेपालगञ्बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।

सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो। त्यसको केही बेरमै उनी पक्राउ परेका हुन्।

अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको थियो।

रिगल संविधान दिवसको अवसरमा बाँकी कैद माफी पाएर ४ भदौमा छुटेका थिए।

बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो।

चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएका थिए। बाँकी कैद माफी पाएर रिगल संविधान दिवसको दिन छुटेका थिए।

त्‍यस निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

रिगलले ४० प्रतिशत कैद भुक्तान गरेको र चालचलन असल रहेको भन्दै कैद मिनाहका लागि सरकारले सिफारिस गरेको थियो।

२०७२ असार २८ गते बाँकेको नेपालगन्ज-१६ स्थित मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेलअगाडि रिगलसहित करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको पुष्टि भएको थियो।

सोही प्रकरणमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ गते रिगललाई जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो।

२०७२ भदौ ७ गते पक्राउ परेका उनलाई २०९२ भदौ ६ गतेसम्म कैद गर्नुपर्ने फैसला भए पनि गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *