सहकारीको ३३ करोड बढी रकम हिनामिना आरोपमा व्यवस्थापक र लेखा समिति संयोजक पक्राउ

ललितपुरको गाबहालस्थित सहकारी नेशनल डेभलपमेन्ट को-अपरेटिभ सोसाइटीका व्यवस्थापक दिनेशकुमार पन्त र लेखा समिति संयोजक रवीन्द्रकुमार नेम्कुल पक्राउ परेका छन्।

आफू कार्यरत सहकारीको ३३ करोड रूपैयाँभन्दा धेरै रकम हिनामिना गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले आफन्तका नाममा नियमविपरीत कर्जा प्रवाह गरी संस्थालाई धराशायी बनाएको देखिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यससम्बन्धी अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार ३३ करोड २२ लाख ५८ हजार दुई सय ८३ रूपैयाँ बिगो कायम गरी ठगी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइएको हो।

व्यवस्थापक पन्तले श्रीमती एकता पन्त, छोरा दिवश पन्त, भाइ उत्तम पन्तलाई बिनाधितो कर्जा प्रवाह गरेका थिए।

त्यस्तै लेखा समितिकै संयोजक रहेका नेम्कुलका साथै कृष्ण खत्री र रूपा घिमिरेको नाममा पनि कर्जा प्रवाह भएको थियो। रूपा घिमिरे तथा गोपालरन पहेली र अनुप राजथलालाई एउटै जग्गा धितो राखी कर्जा दिएका थिए।

कर्जा नै नतिरी घिमिरेको नाममा रहेको जग्गा फुकुवा गरेको समेत प्रहरी अनुसन्धानबाट देखिएको छ। यस्तो ठगीमा संस्थाका तत्कालीन कार्यकारी अध्यक्ष स्वर्गीय राजेशहरि जोशीको पनि मिलेमतो देखिएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *