नक्कली श्रम स्वीकृति बनाएको आरोपमा दुई जना पक्राउ

विदेश जानका लागि नक्कली श्रम स्वीकृति बनाइदिएको आरोपमा दुई जना पक्राउ परेका छन्।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ घर भई काठमाडौंकाे बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र सोही स्थान घर भई काठमाडौंको नागार्जुन नगरपालिका-१, रानीवन बस्ने २१ वर्षीय विपीन ढकाल पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१३, सोल्टीमोडस्थित भाडामा लिइएको वैदेशिक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट मंगलबार पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) मिलन केसीका अनुसार भिजिट भिसामा विदेश जान लागेका व्यक्तिहरू शंकास्पद रहेको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार कार्यालयलाई कागजात प्राप्त भएको थियो।

यसरी प्राप्त कागजातहरूमध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृति नक्कली देखिएको हो।

उक्त कागजात फेवाली र ढकालले बनाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि वैदेशक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सको कोठामा खानतलासी गरेर विपीन ढकालको रेडमी कम्पनीको मोबाइल १ थान, अजित फेवालीको टेक्नो कम्पनीको मोबाइल १ थान, फ्रन्टेक बियाडे लेखिएको सीपीयू १ थान बरामद गरेको थियो।

पक्राउ परेकाहरूलाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *