चीनको सुरक्षा देखाउँदै हिमाली क्षेत्रमा प्रतिबन्धले पर्यटन व्यवसाय खुम्चियो

सरकारले चीनको सुरक्षा संवेनशीलताको कारण देखाउँदै देशमा प्रमुख पर्यटकीय हिमाली क्षेत्र निषेधित गरेपछि पर्यटन व्यवसाय खुम्चिएको छ ।

सरकारले पाँचवटा हिमाली जिल्लाका केही क्षेत्रलाई निषेधित भनी घोषणा गरेको छ भने ती क्षेत्रमा पदयात्रा गर्न जाने विदेशी पर्यटकहरूका लागि निश्चित समयावधि, निश्चित रकम अर्थात् सलामी दस्तुरका साथै अन्य केही शर्तहरू तोकेर अनुमतिपत्र अर्थात् ट्रेकिङ पर्मिट जारी गर्ने गरेको छ ।

निषेधित क्षेत्र भनी घोषणा गरेका क्षेत्रहरूमा मुस्ताङ जिल्लाको माथिल्लो भाग, डोल्पा जिल्लाको माथिल्लो भाग, गोरखा जिल्लाको मनास्लु क्षेत्रका चुम र नुबी भ्याली, हुम्ला जिल्लाको सिमकोट, चंखेली र नाम्खा गाउँपालिकाका केही ठाउँहरू र ताप्लेजुङ जिल्लाको कञ्चनजंघा क्षेत्र रहेका छन् ।

मुस्ताङ जिल्लाको माथिल्लो भागमा भ्रमण गर्न चाहने विदेशी पर्यटकले १० दिनका लागि प्रतिव्यक्ति एकमुष्ट पाँच सय अमेरिकी डलर सलामी दस्तुर तिर्नुपर्छ भने केही गरी पाँच दिनभन्दा बढी बस्नु-रहनु परेमा प्रतिदिन प्रतिव्यक्ति ५० अमेरिकी डलर थप रकम तिर्नुपर्छ । त्यस्तै माथिल्लो डोल्पा जिल्लाको माथिल्लो भागमा भ्रमण गर्न चाहने विदेशी पर्यटकले पनि १० दिनका लागि प्रतिव्यक्ति एकमुष्ट पाँच सय अमेरिकी डलर सलामी दस्तुर तिर्नुपर्छ भने केही गरी पाँच दिनभन्दा बढी बस्नु-रहनु परेमा प्रतिदिन प्रतिव्यक्ति ५० अमेरिकी डलर थप रकम तिर्नुपर्छ ।

त्यस्तै गरेर गोरखा जिल्लाको मनास्लु क्षेत्रका चुम र नुबी भ्यालीमा भ्रमण गर्न चाहने विदेशी पर्यटकले सेप्टेम्बर महिनादेखि नोभेम्बर महिनासम्म प्रतिहप्ता एक सय अमेरिकी डलर तिर्नुपर्छ भने अरू बढी बस्न चाहेमा बढीमा एक हप्ता प्रतिपर्यटक प्रतिदिन १५ अमेरिकी डलर अतिरिक्त तिर्नुपर्छ तर डिसेम्बरदेखि अगस्टसम्म प्रतिहप्ता ७५ अमेरिकी डलर तिर्नुपर्छ भने अरू बढी बस्न-घुम्न चाहेमा बढीमा एक हप्ताका लागि प्रतिपर्यटक प्रतिदिनका लागि १० अमेरिकी डलर अतिरिक्त तिर्नुपर्छ ।

उता हुम्ला जिल्लाको सिमकोट, चंखेली र नाम्खा गाउँपालिकाका केही ठाउँ भ्रमण गर्न चाहने विदेशी पर्यटकहरूले चाहिँ प्रतिव्यक्ति एक हप्ताका लागि ५० अमेरिकी डलर सलामी दस्तुर तिर्नुपर्छ । त्यस्तै गरेर अरू बढी बस्न-घुम्न चाहने विदेशी पर्यटकले प्रतिदिन प्रतिव्यक्ति १० डलर अतिरिक्त रकम तिर्नुपर्छ, बढीमा एक हप्ताका लागि । ताप्लेजुङ जिल्लाको कञ्चनजंघा क्षेत्रमा भ्रमण गर्न चाहने विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिहप्ता २० अमेरिकी डलर तिर्नुपर्छ, चार हप्ताका लागि । चार हप्ताभन्दा बढी घुम्न-बस्न चाहेमा २५ अमेरिकी डलर तिर्नुपर्छ ।

यी क्षेत्र पर्यटकहरूको रोजाइमा रहेको छ । तर, महँगो र झन्झटिलो प्रक्रियाका कारण यहाँको पर्यटन व्यवसाय खुम्चिएको छ ।

चीनले पश्चिमा तथा अमेरिकी जासुसहरू नेपालको बाटो भएर पर्यटकका भेषमा चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गरी अवाञ्छित गतिविधि गर्न सक्ने आशंकामा नेपाल सरकारलाई आग्रह गरेपछि सरकारले पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका यी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । यसको परिणाम अहिले यी क्षेत्रमा पर्यटन व्यवसाय खुम्चिएको हो ।

नेपालको आम्दानीको मुख्य स्रोतमध्ये एक पर्यटन भए पनि चीनले गरेको आग्रहमा पर्यटकीय क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दा त्यसको दुष्परिणाम अहिले भोग्नु परिरहेको छ । निषेधित क्षेत्र खुला गर्नुपर्ने माग विभिन्न समयमा उठ्दै आइरहे पनि हालसम्म यसका लागि ठोस पहल हुन सकेको छैन ।

पर्यटनमन्त्री सुदन किरातीले समेत निषेधित क्षेत्र धेरै हुँदा नेपाल घुम्न आउने विदेशी पर्यटकलाई असहजता हुने गरेको बताएका छन् ।

मंगलबार नेपाल पर्वतारोहण संघको स्वर्ण जयन्ती विशेष कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् । पर्यटनबाट मात्रै नेपालको समृद्धि सम्भव रहेको उनको भनाइ थियो ।

उनले नेपालमा विदेशी पर्यटकका लागि निषेधित क्षेत्र धेरै हुँदा पर्यटकलाई समस्या भएको उल्लेख गर्दै दोब्बर हवाई भाडा लिँदा अन्तर्राष्ट्रियस्तरमा नेपालप्रति नराम्रो सन्देश गइरहेको बताए । समस्या समाधानका लागि आफूले पहल गरेको उनको भनाइ छ ।

मन्त्री किरातीले भने, ‘पर्यटन ऐनहरू पुराना छन् । समयसापेक्ष ऐन संशोधन गर्नुछ । नेपाल आउने विदेशी पाहुनाका लागि हामीले जहाजको भाडा डबल गरेका छौं, त्यसले विश्व समाजमा नकारात्मक सन्देश गइरहेको भन्दै धेरै ठाउँबाट भाडा समायोजनको लागि सुझाव तथा आक्रोश पनि आउने गरेका छन् । निषेधित क्षेत्रहरूको कारणले गर्दा पर्यटनमा धेरै ठूलो असहजता छ । त्यो सहजीकरण गर्न हिजै मात्र मैले प्रधानमन्त्रीसँग कुरा राखेको छु ।’

जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा तीव्र रूपमा असर पारिरहेकाले नेपालका हिमाल काला पत्थरमा परिणत हुने खतरा उच्च रहेको भन्दै त्यसलाई जोगाउन सबै लाग्नुपर्ने उनले बताए ।

हिमाली पर्वतारोहीले हिमाल आरोहणपश्चात गरेको फोहोरले हिमाली स्वच्छतामा असर पारेको भन्दै उनले त्यसलाई रोक्न सबै लाग्नुपर्ने बताए ।

हिमाली क्षेत्रमा गरिने ‘फेक रेस्क्यु’ को कारण नेपाल घुम्न आउने विदेशी पर्यटकमा नकारात्मक प्रचार भएको भन्दै त्यसतर्फ निजी, सरकारी क्षेत्र सबैले गम्भीर भएर सोच्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *