आरके शर्मासहितका अभियन्यतामाथि युवा संघका कार्यकर्ताको दुर्व्यवहार र हातपात

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित कार्यालयमै एनआरएनए समानान्तर कमिटीका अध्यक्ष आरके शर्मासहितका अभियन्तामाथि दुर्व्यवहार र हातपात भएको छ।

संघको कार्यालय बालुवाटारमा युवा संघले कार्यक्रम गरेपछि तनावकाे स्थिति सिर्जना भएकाे हाे।

कार्यक्रममा सहभागी हुन पुगेका आरके शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेको उनी निकट स्रोतले जनाएको छ।

शर्मालाई युवा संघका कार्यकर्ताले तत्काल कार्यालय छाडेर बाहिर जान चेतावनी दिएका थिए। लगत्तै शर्मा बाहिरिएको बताइएको छ।

शर्मा निकट अभियन्ता तथा पत्रकार बेल्जियम निवासी ओम शर्मामाथि भने कुटपिट भएको छ। उनको दाँतमा चोट लागेको छ।

एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन भनी आफूले प्रश्न गर्दा आफूमाथि कुटपिट भएको शर्माले बताए। उनले कार्यक्रमकाे भिडियाे खिच्न थालेपछि कुटपिट भएकाे हाे। युवा संघका कार्यकर्ताले भिडियाे जबर्जस्ती आफ्नाे माेबाइल खाेसेर डिलिट गरेकाे उनले बताए।

‘केन्द्रीय कार्यालयमा के भइरहेको छ भनेर बुझ्नका लागि जानकारी लिन आएको थिएँ। कन्फ्रेन्स हलमा आउँदा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, बद्री केसीलगायतको कार्यक्रम भइरहेको थियो,’ शर्माले भने, ‘एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन? भनेर प्रश्न गरेपछि ममाथि कुटपिट भएको हो। ममाथि कुटपिट हुन थालेपछि बद्री केसी भाग्नुभयो।’

एनआरएनएको हालै सम्पन्न महाधिवेशनको विवाद अझै जारी छ। महाधिवेशनमा धाँधली गरेर बद्री केसी निर्वाचित भएको भन्दै शर्माले समानान्तर समिति गठन गरेका छन्। उनले केसीकै नेतृत्वमा रहेको समितिले गरेको ईभोटिङमा धाँधली गरिएको बताउँदै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर