मुख्यमन्त्री र एमालेकाे आ-आफ्नाे अडानले कोशीमा मन्त्रिपरिषद विस्तार अनिश्चित
कोशी प्रदेश मन्त्रिपरिषद विस्तारबारे अझै टुंगो लाग्न सकेको छैन । मन्त्रिपरिषद विस्तारको विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सोमबार छलफल भएको थियो । छलफल बिनानिष्कर्ष सकियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच छलफल भएको थियो ।
छलफलका क्रममा सरकारमा कुन कुन दललाई सहभागी गराउने भन्नेबारे कुराकानी भएको जनाइएको छ ।
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) मध्ये तत्कालका लागि कुनै एक दलका प्रतिनिधिलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्नेबारे छलफल भएको छ ।
सत्तारूढ गठबन्धनमा आबद्ध सबै दललाई सरकारमा सहभागी गराइए आफू सरकारमा बस्न नसक्ने एमालेले बताउँदै आएको छ ।
छलफलमा सहभागी नेपाली कांग्रेसका सांसद शमशेर राईले गठबन्धनभित्रको कुनै एक दललाई सहभागी गराएर सरकार विस्तार गर्न सकिनेबारे छलफल भएको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले भने सर्वदलीय सहमतिको सरकार बनाउनु आवश्यक रहेको भन्दै त्यसका लागि सार्वजनिक अपिल गर्दै आएका छन् ।
कांग्रेसको शेखर कोइराला पक्षका कार्की गत असोज २७ गते मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री भएलगत्तै उनले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । हाल मन्त्रिपरिषदमा कार्कीबाहेक एक जना कांग्रेसका र अर्का एक जना एमालेका मन्त्री सहभागी छन् ।
मन्त्रिपरिषदमा एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री कार्कीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका सांसदले विश्वासको मत दिएका थिए ।
९३ सदस्यीय कोशी प्रदेशसभामा रहेका एमालेका ३९, कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ८६ जना सांसदले कार्कीलाई विश्वासको मत दिएका थिए ।
प्रतिक्रिया