महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड पुगे लुम्बिनी

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी त्यहाँ पुगेका हुन्। गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट आउन केही समय ढिला हुने भएपनि प्रधानमन्त्री दाहाल पहिले नै लुम्बिनी पुगेका हुन्।

पूर्वनिर्धारित समय तालिकाअनुसार बिहान पौने ९ बजे गुटेरेस आउने बताइएपनि बेसक्याम्पमा भएको ढिलाईले केही समय लाग्ने भएको हो। लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटनमन्त्री सुदन किराँती, लुम्बिनी विकासकोषका उपाध्यक्ष डा. ल्यारकल लामालगायतले स्वागत गरेका छन्।

अन्नपूर्ण बेसक्याम्पबाट गुटेरेस भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने र त्यहाँबाट हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम रहेकाे छ। सुरक्षा व्यवस्थालाई ध्यान दिँदै आज बिहानैबाट मायादेवी मन्दिरमा सर्वसाधारणलाई रोकिएको छ भने तीन तहको सुरक्षा घेरा बनाइएको छ ।

आज लुम्बिनीमा सीमित पत्रकारहरुलाई मात्र प्रवेशका लागि पास उपलब्ध गराइएको छ। नेपाली सेनाले सुरक्षाको जिम्मा लिएकाले विकास कोषले पनि सबैलाई रिपोटिङका लागि पास दिन नसकेको जनाएको छ ।

गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *