एमाले अध्यक्ष ओलीले ९२ वर्षकाे उमेरसम्म राजनीति गर्ने

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष राजनीतिमा रहने बताएका छन्। सोमबार पोखरामा एमाले गण्डकी प्रदेशको सपथग्रहण समारोहमा बोल्दै उनले त्यतिञ्जेल पदमा बस्ने वा नबस्ने भन्नेचाहिँ बेग्लै कुरा भएको बताए।

उनले आफ्नो बुवा अहिले पनि तगडा भएकाले आफ्नै त कुरै गर्न नपर्ने बताए। ‘म लगभग १८ घण्टा काम गर्छु। आज पनि यहाँ आउँदाआउँदै एकछिन आराम गरेँ। किनभने मैले राति आराम गरेकै थिइनँ। थोरै मात्र आराम गरेको थिएँ। त्यसैले मौका मिलेको बेलामा एकछिन आराम गरौँ भने त भनेर बसेर आराम गरेँ थोरै। थोरै आराम गरेपछि फेरि रिफ्रेस भइहाल्छ। ठीक भइहाल्छ,’ उनले भने।

आफ्नो सक्रियतालाई जोड्दै ओलीले आफूलाई ७ र २, सत्ताइस जस्तो लाग्ने बताए। ओली अहिले ७२ वर्षका भए। अहिलेकाे उमेरमा २० वर्ष जाेड्दा उनी ९२ वर्षकाे हुनेछन्।

उनले शरीर जस्तो बनायो, त्यस्तै हुँदै जाने बताए। ‘त्यसलाई सुत्नै सिकायो भने सुत्नै जान्दछ। सुतिराख्छ। काम गर्न सिकायो भने काम गर्छ। थकाइ लाग्छ। तर आराम गरेपछि मर्छ’, उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *