महासचिव गुटेरेसको भ्रमणले जलवायु परिवर्तनबाट नेपालमा परेको प्रभावका विषयमा विश्वको ध्यान तान्ला त?

जलवायु परिवर्तनले पारेको नकारात्मक असरका बारेमा विश्वको ध्यान तान्नका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस यही कात्तिक १२ गते नेपाल आउन लागेको बताइएको छ। यसकै लागि महासचिव गुटेरेसलाई पोखरा तथा अन्नपूर्ण बेस क्याम्प (एबीसी) मा लाने कार्यक्रम राखिएको हो। इजरायल प्यालेष्टिन युद्धका कारण भ्रमण रद्द हुनु अगाडीको कार्यक्रमा महासचिव गुटेरेसलाई सगरमाथा आधार शिविर पनि लाने कार्यक्रम थियो। तर अहिले त्यो योजना कार्यक्रमबाट हटाइएको छ। चारदिने भ्रमणका क्रममा महासचिव गुटेरेसलाई पाटन दरबार स्क्वाएर क्षेत्र तथा लुम्बिनी पनि घुमाइने कार्यक्रम छ।

महासचिव गुटेरेसले नेपालको सङ्घीय संसदको दुबै सदनलाई यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने तथा मुलुकमा दिगो शान्ति कायम गर्नेजस्ता शान्ति प्रक्रियासँग सम्बन्धित विषयले प्राथमिकता पाउने बताइएको छ। यसैगरी जलवायु परिवर्तन, दिगो विकास र अति कम विकसित राष्ट्रहरूको मुद्दाले समेत प्राथमिकता पाउने बताइएको छ।

यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा गुटेरेसले नेपालको भ्रमण गरेका थिए । त्यतिबेला उनले झापामा रहेका भुटानी शरणार्थी शिविरमा भ्रमण गर्नुका साथै नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा अन्य उच्च पदस्थहरूसँग भुटानी शरणार्थीको समस्या समाधानका उपायका बारेमा छलफल गरेका थिए ।

यसपटक उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदको मैत्रीमूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउन लाग्नु भएको हो। प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनेक्रममा महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डको निमन्त्रणा स्वीकार गरी यसअघि राष्ट्रसङ्घीय सचिवालयले असोजमा भ्रमण हुनेगरी कार्यतालिका सार्वजनिक गरेको भए पनि प्यालेस्टाइनका हमास समूहद्वारा इजरायलमा गरिएको आक्रमणपछि महासचिव गुटेरेसको भ्रमण स्थगित भई कात्तिक १२ गतेदेखि हुन लागेको हो।

महासचिव वान की मुनको कार्यकालपछि सन् २०१७ देखि महासचिवको जिम्मेवारीमा रहनुभएका गुटेरेस अहिले दोस्रो कार्यकालका लागि कार्यरत हुनुहुन्छ। सन १९७० र ८० को दशकमा तत्कालीन महासचिवले नेपालको भ्रमण गरेको र पछिल्लोपटक सन् २००८ मा महासचिव वान की मुनपछि गुटेरेसको भ्रमण हुन लागेको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ।

सन् १९४५ मा पोर्चुगलको लिस्वनमा जन्मिएका गुटेरेस भौतिक शास्त्र तथा इलेक्ट्रीकल इन्जिनियर विषय अध्ययन गरी केही वर्ष प्राध्यापन पेशामा संलग्न थिए। सन् १९९५ देखि २००२ सम्म पोर्चुगलको प्रधानमन्त्रीको जिम्मेवारी संहालिसक्नुभएका ७४ वर्षीय महासचिव गुटेरेस एक अनुभवी राजनीतिज्ञ र कूटनीतिज्ञका रुपमा परिचित हुनुहुन्छ। उहाँ सन् १९९९ देखि २००५ सम्म सोसलिस्ट इन्टरनेसनलको अध्यक्ष समेत थिए ।

नेपालको औपचारिक भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन् । यसैगरी पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख राजनीतिक दलका नेताहरूसँग समेत उनले भेटघाट गर्ने कार्यक्रम छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *