दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

कोहलपुर (बाँके)- हिन्दु धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घर आँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दसैँ मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् ।

नेपालगञ्जमा भेटिएका हुम्लाका धनन्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि अलपत्र परेको बताए । भोजपुरमा शिक्षण पेसामा कार्यरत उनी दसैँ मनाउनका लागि गृह जिल्ला जानका लागि यहाँ आए पनि टिकट नपाएकाले होटलमा बस्न बाध्य भएको बताए ।

‘टिकट पाइन्छ कि भनेर दैनिकरूपमा नेपाल वायुसेवा निगमको टिकट बिक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहानै जाने गरेको छु’ जेठाराले भने, ‘बिहान ४:०० बजे टिकटका लागि यहाँ आएको अहिलेसम्म टिकट पाउन सकेको छैन ।’

स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन् । हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन् । सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन् । नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ ।

निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको जेठाराले बताए । उनका अनुसार दसैँको समयमा अन्य समयभन्दा यात्रुको चाप बढी भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन् ।

निजी एयरलाइन्सले नियमित उडान नगरेको भन्दै नियमित उडान भर्दै आएको वायुसेवामा पनि पहुँचवालाले मात्र टिकट पाउँदा आफूहरू समस्यामा परेको हुम्लाका कृष्णबहादुर सिंहले बताए । यसअघि सातामा तीन दिन मात्र उडान भर्दै आएको नेपाल एयरलाइन्सले दसैँलाई लक्षित गरी आइतबारदेखि आठ दिनका लागि उडान थप गरेको जनाएको छ ।

एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगञ्जका स्टेशन प्रमुख मानबहादुर चौधरीका अनुसार दसैँको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ । ‘यसअघि हप्तामा तीन दिन मात्र उडान हुँदै आएको थियो’, उनले भने, ‘अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ ।’

यात्रुलाई सहजरूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चिबच्ची, वृद्धावृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिए । यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको उनको भनाइ थियो ।

बाजुरा कोल्टीकी सङ्गीता विष्टले दसैँका लागि घर जान हवाई टिकट काट्न आएको भन्दै टिकट नपाउँदा घर कसरी जाने भन्ने चिन्ता लागेको बताए । निगमले पहुँचवालालाई मात्र टिकट वितरण गर्दा आफूहरूले नपाएको उनको गुनासो थियो । ‘एउटा उडानमा १७ सिट हुन्छ’, उनले भने, ‘यहाँ सात वटा टिकट मात्र सर्वसाधारणलाई दिने गरिन्छ । बाँकी टिकट पहुँचवालाले पाउँछन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *