०८४ को चुनावमा गठबन्धन गरे कांग्रेस पार्टी एक रहने कुरामा कल्पनै नगरे हुन्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा पनि कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् ।

पार्टी निकट पत्रकारहरुको सुभेच्छुक संगठन प्रेस युनियन काठमाडौं जिल्ला समितिले आज काठमाडौंमा आयोजना गरेको चियापान तथा दशैं लगायत चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा महामन्त्री थापाले त्यस्तो बताएका हुन् ।

आफु विगतमा पनि चुनावमा गठबन्धन गर्न नुहने पक्षमा रहेको र भोलिका दिनमा पनि गठबन्धन गर्ने कुराको शक्त विरोधी रहिरहने थापाको उद्घोष थियो ।

महामन्त्री थापाले गठबन्धन गरे कांग्रेस एक रहने कुराको कल्पनै नगरे हुने पनि बताए । थापाले अगाडी भने, ‘०८४ सालमा चुनावमा जाँदै गर्दाखेरि हामी त अब गठबन्धनमा जाँदैजाँदैनौं । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भनेर भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुरामा कल्पनै नगरे हुन्छ ।’

एमाले अध्यक्ष केपी ओलीले मानेको भए पुस १० मै एमाले र कांग्रेसको सरकार बनेको पनि थापालेब ताए । एमाले अध्यक्ष ओलीले कांग्रेस सभापतिको प्रस्ताव नमानेकै कारण अहिले गठबन्धन कायम रहिरहेको र माओवादीले तेस्रो दल भएर पनि सरकारको नेतृत्व गरिरहन पाएको थापाको भनाई थियो ।

‘चुनावभन्दा अगाडि कसले के बाचा गरेको थियो हामीलाई थाहा छैन । तर, चुनावपछाडि पुस १० गते हाम्रो सभापतिलाई कांग्रेस ठूलो दल भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने लाग्यो । जुन स्वाभाविक हो । र, कांग्रेस सभापतिले त्यो दिन विद्रोह गर्नुभयो । विद्रोह गरेर बालकोटमा ओलीसँग वार्ता गर्नुभयो । ओलीले कांग्रेसको सभापतिले विद्रोह गरेको त्यो स्वीकार्दिनुभएन । मद्दत गरिदिनुभएन,’ कांग्रेस महामन्त्री थापाले भने,–‘नत्र त्यसबेलामै कांग्रेस एमालेको सरकार बनिसकेको हुन्थ्यो । कांग्रेस र एमालेको सरकार बनाउने भनेर प्रचण्डलाई घरबाट बिदा गरेर पठाएको त्यो दिन ओलीले मान्दिनुभएन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *