गृहमन्त्रीलाई चीनमा माइल्ड हर्टअट्याक, अस्पताल भर्ना
काठमाडौं- चीनको राजधानी बेइजिङमा आयोजित तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इण्टरनेशनल कोअपरेशन’को सम्मेलनमा भाग लिन बेइजिङ पुगेका उपप्रधन तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।
उनलाई गएराती छातीमा समस्या देखा परेपछि अस्पताल भर्ना भएका हुन् ।
‘उहाँ (श्रेष्ठ) लाई राती छाती दुख्ने समस्या देखा पर्यो, त्यसपछि अस्पताल लगिएको हो,’ स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले भने,–‘उहाँको अहिले बेइजिङमा रहेको अस्पतालमा उपचार भईरहेको छ ।’
बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुन श्रेष्ठ सोमबार चीन प्रस्थान गरेका थिए ।
मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति र प्रगतिबारे छलफल कार्यक्रममा श्रेष्ठले बुधबार ‘कि नोट स्पिच’ दिएका थिए ।
त्यस अवरसमा उनले हरित विकासप्रतिको नेपालको प्रतिबद्धता दोहोर्याउँदै लचिलो र दिगो आर्थिक वृद्धिको लागि हरित विकास अपरिहार्य भएको बताएका थिए ।
त्यसपछि उनलाई राती १ बजे स्वास्थ्यमा समस्या देखा परेको छ । त्यसपछि उनलाई अस्पताल लगिएको हो ।
चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।
अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव श्रेष्ठले बताए । हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन् ।
प्रतिक्रिया