एमालेमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमाथि अहिले चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् ।

बुधबार दशैं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका अध्यक्ष समृद्ध नेपाल, सुखी नेपालीको कल्पनाकार भएको भन्दै अहिले पार्टीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो पार्टी अध्यक्ष जो समृद्ध नेपाल, सुखी नेपालीको कल्पनाकार हुनुहुन्छ आज चौतर्फी घेराबन्दी र आक्रमणको अवस्थाबाट गुज्रिरहेका छौं ।’

उनले एमालेलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने संकल्पका साथ आफूहरू अघि बढेको बताए । एमाले सरकारमा हुँदा सधैँ देशको शिर उच्च पार्ने काम गरेको उनको जिकिर छ ।

उनले भने, ‘हामीले संकल्प गरेका छौं । अब एमालेलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्छ । त्यसको जगमा राष्ट्र निर्माणको यात्रा अघि बढ्नुपर्छ भनेर हामी लागिरहेका छौं । राष्ट्रियताको पक्षमा एमाले र केपी ओली त्यसको नेतृत्वकर्ता हुनुहुन्छ । जतिबेला हामी सरकारमा पुग्यौं, हामीले सदैव देशको शिर उच्च पार्ने काम गरेका छौं ।’

उनले आफूहरू प्रतिपक्षमा रहँदा पनि देशको हितको पक्षमा सबैभन्दा जिम्मेवार पार्टीको रूपमा रहँदै आएको दाबी गर्दै भने, ‘प्रतिपक्षमै रहँदा पनि हुँदा पनि देशको हितका पक्षमा सबैभन्दा जिम्मेवार पार्टीको रूपमा नेकपा एमाले रहँदै आएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *