पहिलो त्रैमासमा राजस्व संकलन १५ र बजेट खर्च १६ प्रतिशत

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा सरकारको राजस्व सङ्कलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ भने १६ दशमलव ०२ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रूपैयाँ बराबरको बजेट ल्याएको थियो । पहिलो त्रैमासिक अवधिमा दुई खर्ब ८० अर्ब ५७ करोड २५ लाख रूपैयाँ बराबर बजेट खर्च भएको छ । जुन खर्च वार्षिक विनियोजनको १६ दशमलव दुई प्रतिशत बराबर हो ।

यो अवधिमा सरकारले चालुतर्फ १८ दशमलव ६९, पुँजीगततर्फ पाँच दशमलव नौ र वित्तीय व्यवस्थातर्फ १६ दशमलव ०५ प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कबाट देखिन्छ । चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड रूपैयाँ बराबरको वार्षिक बजेट रहेकोमा असोज मसान्तसम्ममा दुई खर्ब १३ अर्ब ३९ करोड रूपैयाँ बराबर खर्च भएको छ ।

त्यस्तै पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड रूपैयाँ बराबरको वार्षिक बजेट रहेकामा हालसम्म १७ अर्ब ८३ करोड ३१ लाख रूपैयाँ बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख रूपैयाँ बराबर बजेट छुट्याइएकामा पहिलो त्रैमास अवधिमा ४९ अर्ब ३४ लाख ९० हजार रूपैयाँ बराबर खर्च भएको छ ।

हालसम्मको सरकारी राजस्व सङ्कलन हेर्दा दुई खर्ब ३४ अर्ब ६३ करोड २४ लाख रूपैयाँ बराबर रहेको छ । जुन वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत बराबर हो । सरकारले चालु आवका लागि १४ खर्ब ७२ अर्ब ४८ लाख ४७ हजार रूपैयाँ बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको छ ।

पहिलो त्रैमासमा सङ्कलन भएको राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको १५ दशमलव २८ प्रतिशत अर्थात् एक खर्ब ९९ अर्ब ४६ करोड २१ लाख रूपैयाँ र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको १६ ददशमलव ७९ प्रतिशत अर्थात् १९ अर्ब ६५ करोड ३० लाख रूपैयाँ बराबर रहेको छ । चालु आवका लागि ४९ अर्ब ९४ करोड ३० लाख रूपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म वार्षिक लक्ष्यको शून्य दशमलव १२ प्रतिशत अर्थात् ६ करोड १८ लाख रूपैयाँ बराबर अनुदान लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर