भ्रष्टाचारविरोधी अभियानले नयाँ उत्साह जागेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन् ।

बुधबार मुस्ताङमा आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका कार्यक्रममा बोल्दै उनले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेका भन्दै भ्रष्टाचारविरोधी अभियानले नयाँ उत्साह जागेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरिरहेको छ । यो देशमा सुशासन कायम गर्न, जनताको जीवनमा परिवर्तन ल्याउन, अर्थतन्त्रलाई गति दिन हामीले मात्रै सक्छौं । त्यो इच्छाशक्ति, दृढता र योजना हामीसँग मात्रै छ । सरकार र पार्टीलाई जोडेर परिवर्तनको पक्षमा नयाँ वातावरण सिर्जना गर्न पार्टीले विशेष अभियान सञ्चालन गरिरहेको छ । यसपछि पनि अभियानले निरन्तरता पाउनेछ । हामीले शक्तिशाली पार्टी निर्माण गर्ने छौं ।’

उनले आफ्नो तेस्रो कार्यकालसम्पूर्ण रूपले देश र जनताको हितमा अधिकतम सदुपयोग गर्न कोसिस गरिरहेको बताए ।

उनले भने, ‘मेरो तेस्रो कार्यकाल सम्पूर्ण रूपले देश र जनताको हितमा अधिकतम सदुपयोग गर्न कोसिस गरिरहेको छु । मैले नेतृत्व सम्हाल्दै गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो, अहिले राम्रो सुधार आएको छ । सबै सूचकहरू सकारात्मक छन् । जनतामा अब केही हुन्छ भन्ने विश्वास जागेको छ । तसर्थ सरकारले गरेका राम्रा काम जनतामा लैजान र सम्पूर्ण पार्टी जनसेवामा केन्द्रित हुन जरूरी छ । यसले हामी फेरि शक्तिशाली तुल्याउनेछ, जनताको भरोसाको मुख्य केन्द्रका रूपमा स्थापित गर्नेछ ।’

प्रधानमन्त्रीले मुस्ताङको विकास र जलवायु परिवर्तनले ल्याएका नयाँ संकट र जोखिमहरू न्यूनीकरण गर्न सरकार गम्भीर रूपमा लाग्नेसमेत बताए ।

भेलामा विभिन्न पार्टी परित्याग र विभिन्न सामाजिक व्यक्तित्व गरी १३५ जना नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *