चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गर्छाैं : पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि दस वटासम्म जहाज खरिद गरिने बताएका छन्।

मन्त्री निवास पुल्चोकमा आज नेपाल विद्यार्थी संघ (नेविसङ्घ) को ज्ञापनपत्र बुझ्दै उनले निगमको जहाज थपेर भाडादरमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्नुको विकल्प नरहेको उल्लेख गरे।

दसैंअघि नै औपचारिकरूपमा विमान खरिद प्रक्रिया अघि बढाइने उल्लेख गर्दै मन्त्री किरातीले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन दस वटासम्म जहाज थप्नैपर्ने आवश्यकता रहेको औंल्याए।

निगमले आन्तरिक उडानका लागि तीन वटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारी गरेको छ । ती जहाज निगमको आन्तरिक स्रोतबाटै खरिद गर्नेगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमले जनाएको छ।

निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्वीनअटर जहाज मात्रै छन् । ती जहाजले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्दै आएका छन्। पर्यटनमन्त्री किरातीले आजैदेखि नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दसैंभरी सञ्चालन गर्ने जानकारी दिए।

उनले चाडवाडका बेला हुने कालोबजारी नियन्त्रण गर्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल र समन्वय गर्ने पनि बताए।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा नेतृत्वको टोलीले चाडबाडका बेलामा हुने भाडादरमा हुने कालोबजारीलाई नियन्त्रण गर्न र सहुलियत भाडादरको व्यवस्था गर्न माग गर्दै पर्यटनमन्त्रीलाई ज्ञापन बुझाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर