फ्रान्समा विद्यालय परिसरमा छुरा प्रहार गरी एक शिक्षकको हत्या, अन्य दुई घाइते

उत्तरपूर्वी फ्रान्सको अरास शहरमा रहेको एक विद्यालयमा शुक्रबार भएको छुरा आक्रमणमा परी एक शिक्षकको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएको प्रहरी तथा क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।

आक्रमणकारी रूसको मुस्लिम बहुल दक्षिणी काकेशस क्षेत्र चेचन्याका रहेको र उनी सम्भावित सुरक्षा खतराका रूपमा फ्रान्सको राष्ट्रिय निगरानी सूचीमा पहिल्यैदेखि नै रहेकाे जनाइएकाे छ ।

घाइते हुनेमा एक सुरक्षाकर्मी र कम गम्भीर अवस्थामा रहेका एक शिक्षक रहेको स्रोतले जनाएको छ ।

विद्यालयका कुनै पनि विद्यार्थी घाइते नभएको प्रहरी स्रोतले जनाएको छ ।

गृहमन्त्री गेराल्ड डार्मानिनले ‘एक्स’ मा लेखेका छन्, ‘ती व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ ।’ स्थानीय प्रहरीले स्थिति नियन्त्रणमा आइसकेको र सर्वसाधारणका लागि कुनै खतरा नरहेको बताएको छ ।

आक्रमणपछि केही समय विद्यालयका विद्यार्थी र शिक्षकलाई विद्यालय परिसरमै सीमित गरिएको थियो ।

‘अपराधीले अरबी वाक्यांश ‘अल्लाहु अकबर!’ (ईश्वर महान् हुनुहुन्छ) भनेर चिच्याएको थियो,’ अनुसन्धानको प्रारम्भिक जानकारीबारे बताउँदै एक प्रहरी अधिकारीले एएफपीसँग भने । थप अनुसन्धानपछि अन्य जानकारी आउने उनले बताए ।

फ्रान्सले तत्काल उक्त आक्रमणको बारेमा आतंकवादी अनुसन्धान सुरू गरेको राष्ट्रिय आतंकवादविरोधी अभियोजनकर्ताहरूले बताएका छन् ।

यस देशमा सन् २०१५ देखि इस्लामी चरमपन्थीहरूले शृंखलाबद्ध आक्रमणहरू भोगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *