चाडपर्वमा सडकमा कोही पनि बस्नुपर्दैन भन्ने सुन्दा सन्तोष मिलेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वमा कोही व्यक्ति सडकमा बस्नु नपरोस् भनेर मानवसेवा आश्रमले आजदेखि सुरु गरेको मेची महाकाली उद्धार अभियानले आफूलाई निकै सन्तोष मिलेको बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मेची महाकाली उद्धार अभियानमा सरिक आश्रमका अभियन्ताहरुलाई बिदाइ गर्दै प्रधानमन्त्री दाहालले यो अभियानले आफूलाई हर्षित तुल्याएको र चाडपर्वका बेलामा असहायलाई सडकबाट उद्धार गरी आश्रय दिनु महत्वपूर्ण विषय भएको बताए।

राजनीतिक दबाब र तनावपूर्ण चुनौती मात्रै नभइ समाजसेवा झन बढी महत्वपूर्ण रहेको अनुभूति गर्ने अवसर यो कार्यक्रमले आफूलाई दिएको उल्लेख गर्दै उनले आश्रमको महत्व थाहा पाएसँगै सरकारका तर्फबाट सहयोग गरिरहेको जानकारी गराए।

उनले भने, ‘आउँदो दिनमा राज्यकोतर्फबाट पनि अझै धेरै जिम्मेवारी लिनुपर्छ भन्ने मैले ठानेको छु, नेपालमा मानवसेवा र सामाजिक सेवाका निम्ति संकल्पका साथ लाग्ने व्यक्तिको कमी छैन भन्ने कुरा आश्रमले स्थापित गरेको छ, बधाई दिन चाहन्छु।’ उनले मेची महाकाली यात्राको पूर्ण सफलताको शुभकामना पनि दिए।

सो अवसरमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अत्यन्तै कठिन अवस्थामा रहेका दाजुभाई, दिदीबहीनी, आमाबुबा र बालबालिकालाई आश्रमले संरक्षण गरिरहेकोमा प्रशंसा गरे।

मुलुकभित्र जति पनि सकारात्मक काम भइरहेका छन् ती सबैलाई जोडेर सामाजिक, आर्थिक रुपान्तरणसहित उन्नतशील राष्ट्र बनाउने अभियानमा सरकारले जोड दिइरहेको उनको भनाइ थियो। यस अभियान सफल बनाउनका लागि सरकारको आवश्यक सहयोग रहने उनले प्रतिबद्धता पनि जनाए।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडीले) आश्रमले गरेको पुण्य कामको शब्दमा बयान गर्न नसकिने बताए। सो क्रममा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले देशका १९ जिल्लाका २४ शाखामा हाल एक हजार  छ सय सहयोगापेक्षी आश्रित रहेको जानकारी गराए।

आज प्रधानमन्त्री कार्यालयबाट बिदाइ भएका मेची महाकाली उद्धार अभियानमा सहभागी ३८ जना अभियन्ताले भोलि मेची पुलबाट उद्धार थाल्ने उनले बताए।

कूल ३८ दिनसम्ममा तीन सयभन्दा बढी सडक आश्रित मानवलाई उद्धार गर्ने योजना छ। यसअघि पनि आश्रमले मेची महाकाली अभियान चलाइसकेको छ। आश्रमले विसं २०८२ सम्म देशलाई नै सडकमानव मुक्त बनाउने सङ्कल्प लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *