सिंहदरबारअगाडि शान्ति समाजको प्रदर्शन, १६ जना पक्राउ

मानवअधिकार तथा शान्ति समाजले प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण गेटअगाडि विरोध प्रदर्शन गरेको छ।

शुक्रबार विस्तृत शान्ति सम्झौताको मर्मअनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसदमा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाऊ, फागुन १ गते जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय शीघ्र खारेज गर, कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरूपयोग बन्द गरलगायतका नारा लगाएर शान्ति समाजले प्रदर्शन गरेको हो।

प्रर्दशन प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरू विकास थापा, सानु लामा, रीता अधिकारी, ईश्वर पुडासैनी, तुलसीराम भण्डारी, नानीकाजी गिरी, मनबहादुर थापा, नरेन्द्रमान श्रेष्ठ, मधु पुडासैनी, द्वन्द्वपीडित साझा चौतारकिा कार्यवाहक अध्यक्ष कल्याण बुढाथोकी, माओवादीपीडित संघका अध्यक्ष धर्मराज न्यौपानेसहित १६ जनालाई गिरफ्तार गरी नगर प्रहरी कार्यालय भृकुटीमण्डप कार्यालयमा राखेको छ।

प्रदर्शनमा सहभागीहरूले हत्या-हिंसा महिमामण्डन गर्न पाइँदैन, कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौं, पीडकलाई आममाफी दिने नियतले भइरहेको चलखेल बन्द गर, हिंसा र आपराधीकरणलाई बढावा दिने काम बन्द गर, महँगीले ढाड भाँच्यो, नागरिकलाई राहत खोइ?, हत्यालगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुन सक्दैन, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको आर्थिक चलखेलबारे छानबिन गर, ललिता निवास जग्गा घोटालामा अदालतको आदेशअनुरूप छानबिन किन नगरेको?, सुनकाण्डका नाइकेलाई कारबाही खोइ? लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *