मंगोलियामा १० औं अवतारी लामाको घोषणा

७० वर्षसम्म कम्युनिस्ट शासनमा रहेको र सन् १९९० मा लोकतन्त्र पुनःबहाल भएको देश मंगोलियामा अहिले एक नयाँ अवतारी बालकको उदय भएको छ। पुनर्जन्ममा गहिरो विश्वास भएको तिब्बतियन बौद्ध परम्पराको व्यापक प्रभाव भएको मंगोलियाको राजधानी उलानबाटरको भव्य गान्दन बौद्ध गुम्बामा एक ८ वर्षीय बालक ए. अल्टान्नरलाई १० औं बज्ड (दलाई लामाजस्तै मुख्य धर्मगुरू) को रूपमा स्थापित गरिएको छ।

मंगोलियन बौद्ध परम्परामा मूल धार्मिक नेतालाई ‘बज्ड’ भनिन्छ। बज्डका ९ औं अवतारीको ७९ वर्षको उमेरमा सन् २०१२ मा निधन भएको थियो। उनी मंगोलियामा जन्मिएका थिएनन्।

सन् १९९० को लोकतान्त्रिक युग सुरू भएपछि हाल भारतमा निर्वासनमा रहेका तिब्बतियन मुख्य धर्मगुरू दलाई लामाबाट छानिएर सन् २०११ मा उलानबाटरको गान्दन गुम्बामा पठाइएका थिए। उनकाे छनाेट भने सन् १९३६ मा नै दलाई लामाले ४ वर्षको उमेरमा ल्हासामा घोषणा गरेकाे थियो र उनी लामासँगै निर्वासनमा थिए।

हाल मंगोलियामा आधाभन्दा बढी जनसंख्या बौद्ध धर्मका अनुयायी छन्। कम्युनिस्ट शासन सुरू भएपछि धार्मिक अवतारी परम्परालाई निषेध गरिएको थियो। तर अहिले आएर १०औं अवतारीका रूपमा मंगोलियाका एक समृद्ध व्यापारिक परिवारमा जन्मिएका बालकलाई छनाेट गरिएको छ। यो घटनाले मंगोलिया यतिबेला दलाई लामा र चीनको आपसी द्वन्द्वको चपेटामा तानिएको छ।

१० औं अवतारी बज्डको छनाेटको घोषणा भने गत मार्चमा दलाई लामाले भारतको धर्मशालाबाट गरेका थिए। मंलोलियाका तत्कालीन सम्राट कुबलाय खाँले सुरू गरेको ‘आध्यात्मिक शासक’ को यो परम्परा ४ सय वर्षसम्म निरन्तर चलेको थियो। हाल घोषित अवतारीको छनाेट सन् २०१४ र २०१५ मा मंगोलियामा जन्मिएका ८० हजार बालकहरूमध्येबाट सांस्कृतिक र धार्मिक गुरूहरूको अनेक परीक्षणबाट गरिएको हाे र अन्तिम सूचीबाट दलाई लामाले ए. अल्टान्नरको घोषणा गरेका हुन्।

मंगोलियामा चीनका छिन शासकहरूले १७ औं शताब्दीमा हस्तक्षेप गरेपछि नयाँ अवतारी तिब्बतियन हुनुपर्ने परम्परा सुरू गराएका थिए। तर अहिले आएर सो परम्परा तोडी मंगोलियन बालकहरूबाटै धर्मगुरू छानिएको हो।

यता चिनियाँ कम्युनिस्ट पार्टीले भने यो छनाेटमा बाह्य तत्त्वको संलग्नता रहेको भन्दै गम्भीर चासो प्रकट गरेको बताइएको छ।

अमेरिकामा जन्मिएका नयाँ अवतारी बज्ड भने मंगोलियाको एक धनी परिवारबाट छानिएका हुन्। उनकी हजुरआमा गारमजाभ छेदेन मंगोलियाको एक सफल व्यापारिक प्रतिष्ठान मोनप्लोमेटकी संस्थापक हुन् भने अवतारी छानिएका बालकका बुबा मंगोलियाको नेसनल युनिभर्सिटीमा प्राध्यापनरत ४३ वर्षीय गणितज्ञ अल्टान्नर छिन्छुलन र आमा व्यापारिक समूहकी प्रमुख मुनखान्सन हुन्।

आफ्नो छोरालाई अवतारी घोषित गरी बौद्ध भिक्षुहरूले गुम्बामा राखी धार्मिक जिम्मेवारीमा स्थापित गर्न खोजेकामा अभिभावकहरू भने खुसी छैनन्। उनीहरूले १८ वर्ष भएपछि ए. अल्टान्नरले जुन बाटो लिन चाहन्छन् त्यो छनाेट गर्न दिने सर्तमा मात्र आफ्नो छाेरालाई गुम्बा पठाएका हुन्।

नयाँ अवतारी बज्डलाई भारतको धर्मशाला लगी ७९ वर्षीय दलाई लामाबाट गुरूमन्त्र र शिक्षा दिइसकिएको छ। यी अवतारीमा देखिएको आध्यात्मिक लक्षण र विशेषताबाट उनी सहजै आध्यात्मिक गुरूको रूपमा स्थापित हुने विश्वास उलानबाटरका धार्मिक गुरू र बौद्ध-प्राज्ञहरूले व्यक्त गरेको न्युयोर्क टाइम्सले आफ्नो लामो रिर्पोटमा उल्लेख गरेको छ।

नयाँ अवतारीको घोषणापछि मंगोलियामा चिनियाँ र अमेरिकी स्वार्थको टकराव पनि देखिएको छ। अमेरिकामा जन्मिएका र स्वतः अमेरिकी नागरिक हुने बालकलाई दलाई लामाले १० औं बज्डको घोषणा गरेर रणनीतिक रूपमा ती अवतारीको सुरक्षामा अमेरिकी चासो सधैं रहने बाटो लिएका छन्।

अभिभावक असहमत भएपछि अन्तिम सूचीका ११ जना बालकमध्येबाट अर्को अवतारी घोषणा गर्न भिक्षुहरूले सुझाए पनि दलाई लामाले अस्वीकार गरेका थिए। नयाँ अवतारीमा धनाढ्य र शक्तिशाली परिवारका बालक छनाेट गरी शासनमा शक्तिशाली वर्गको वर्चश्व सबल पार्न खोजेको भनी आलोचना पनि भएको छ। तर छनाेटकर्ताले बालकमा निहित आश्चर्यजनक आध्यात्मिक लगाव र सहज रूपमा धार्मिक व्यवहार प्रदर्शन गर्ने क्षमताका कारण छनाेट गरिएको दाबी गरेका छन्।

तिब्बतियन बौद्ध परम्परा र धार्मिक विश्वासको मूल केन्द्रका रूपमा मंगोलियालाई लिइन्छ। त्यसैले त्यहाँको अवतारी परम्परा पुनः सुचारू भएकामा विश्वभरिका बौद्ध अनुयायीहरूले गौरव गरेको उलानबाटरका धर्मगुरूले बताएका छन्।

मंगोलियाका राष्ट्रपति एल्वर्गदोर्जले समेत बालकका अभिभावकलाई फोन गरी यो छनाेट राष्ट्रको एक उल्लेखनीय पद भएकाले सहज रूपमा लिन भनेको बताइएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *