जसलाई छुँदैन दशैंले

नेपालीहरूको महान् चाड दशैं नजिकिँदै छ। बजारमा किनमेल सुरू भइसकेको छ। सहरबाट टाढा जानेले टिकट बुकिङ गरेका छन्। यस्तै परदेशमा भएका नेपाली दशैंकै सिलसिलामा नेपाल भित्रिन थालेका छन्। जे होस् वातावरणमा दशैं घुलमिल हुँदै गएको छ।

दशैं सबैका लागि बराबर हो। तर हुने खानेका लागि भिन्न र हुँदा खानेका लागि खिन्न हुन्छ। बजारमा महँगी बढेको छ। त्यसमाथि दशैंको बहाना बनाएर थप महँगो मूल्यमा सामान कालोबजारी हुन्छ। कति व्यापारीले त मौका छोप्न अखाद्य पदार्थ मिसावट पनि गर्छन्। यसको नियन्त्रण र अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोली बजारमा निस्कन्छ। हरेक समयमा यस्तो अनुगमन हुनुपर्नेमा चाडबाड आउँदा मात्रै अनुगमन गरिन्छ।

घरघरमा बाटोघाटोमा गलैंचा बेच्दै आएका कैलालीका ५४ वर्षीय केशव पनि बजारमा महँगी भएको कुरा स्विकार्छन्। ‘यस्तो महँगी छ। दिनभर काम गरेर राति छाक टार्न मुस्किल छ,’ उनी भन्छन्, ‘हामीजस्ता गरिब र निम्न वर्गका लागि दशैं दशैं होइन। दशैं त मेरा लागि दशा हो।’

उनका अनुसार दशैं भनेका बालबच्चका लागि हो, जसलाई कुनै चिन्ता छैन। तर व्यवहारले थिचिएकालाई दशैं दशा हो। ‘बालबच्चाका लागि त हो दशैं,’ उनी विरह पोख्छन्, ‘उनीहरूको खुसीका लागि ऋण गरेर भए पनि एक जोर शरीर ढाक्ने कपडा र दुई चार किलो मासु किन्न जोहो गर्न पाए…।’

त्यस्तै दशैंको मुखमा बिदेसिन लागेका बर्दियाका २२ वर्षीय रामेश्वरका अनुसार गरिबलाई दशैं आउँदैन। ‘राजनीति, भ्रष्टचारी र बेथितिले गर्दा देशमा बस्ने अवस्था पनि छैन। त्यसैले मलेसिया जानका लागि मेडिकल टेस्ट गर्न आएको हुँ,’ उनले भने, ‘सकेसम्म दशैं अगाडि नै विदेश पुग्न पाए साहु-महाजनका अगाडि हात थापेर दशैं मनाउने अवस्थासँग त ठोकिनु पर्दैनथ्यो।’

रौतहटका १६ वर्षीय चन्दनकुमार माइतीघर मण्डला अगाडि साइकलमा कापी, किताब, फलाम भन्दै हिँडिरहेको अवस्थामा भेटिए। एकछिन रोकेर उनलाई ‘तपाईंको दशैं तयारी कस्तो छ?’ भन्ने प्रश्न गर्दा जवाफमा उनले भने, ‘कवाडी उठाएर ५ देखि १० हजार कमाउन पनि कठिन भएको छ। पाँच हजार कोठा भाडा तिर्नुपर्छ। त्यसबाट बचेको पाँच हजारले जसोतसो चामल, दाल, ग्यास किन्न पुर्‍याउने गरेको छु।’

जसोतसो श्रम गरेको पैसाले पेट पाल्न पुग्यो भने आफ्ना लागि त्यही दशैं हुने उनकाे भनाइ छ।

डडेल्धुराकी संगीता थापाका लागि दशैं भने शोकमा परिणत भएको छ। नेपाल आर्मीमा कार्यरत उनका श्रीमानको ४ महिना अगाडि विद्युत दुर्घटनामा परी मृत्यु भयो। श्रीमानको मृत्युपछि उनकाे सहारा र चाडबाड सबै खोसिएको छ।

‘मलाई किन हो किन, यो पाला बूढासँग कतै घुम्न जान मन लागेको थियो। भएकी एउटी छोरीलाई नयाँ कपडा किनिदिन मन थियो। वैशाखमा बूढालाई यो कुरा भनेकी पनि थिँए,’ उनी भक्कानिँदै भन्छिन्, ‘तर दैव यतिको निर्दयी हुँदो रहेछ। चाड खोसियो केही थिएन, तर श्रीमानले सदाका लागि छोडेर गए।’

त्यसैगरी काभ्रेका ६५ वर्षीय अर्जुनका अनुसार बुढेसकालको लाठीभन्दा बलियो सहारा छोरा हो। तिनै छोरा पनि रोजगारीका सिलसिलामा दुबई गएका छन्। ‘हामी त बुढाबुढी मात्रै छौं यहाँ। हामीलाई के चाड के पर्व ?’ उनी सुनाउँछिन्, ‘चाडपर्व आँउदा छोरा साथमा नभएपछि मन खिन्न हुँदो रहेछ। यहाँ हुँदा केही गरेन भनेर गाली गरियो। विदेश गएपछि त्यता हुने आतंकका खबरले त्रसित बनाएको छ। काम छोडेर भए पनि फर्की आए हुन्थ्यो जस्तो लाग्छ। गएको ऋण बरू जमिन बेचेर तिर्न हुन्थ्यो।’

अर्जुनका लागि दशैं तिहार या चाडपर्व भनेकै छोरा हुन्। छोरा नआएसम्म कुनै पर्व उनकाे घरमा भित्रिँदैन।

यी त केही प्रतिनिधि पात्र मात्र हुन्। हाम्रो समाज आज पनि हातमुख जोर्न, छाक टार्न मुस्किल हुने परिवारको संख्या थुप्रै छ। उनीहरूका लागि यस्ता खर्चिला चाडपर्वले केही अर्थ राख्दैन।

त्यसो त सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन नगरेको होइन। तर त्यसको प्रभावकारितमाथि सधैं प्रश्न उठिरहन्छ। कुनै चाडपर्वलाई लक्षित गरेर सीमित सुपथ मूल्य पसल सञ्चालन गर्नुको अर्थ देखिँदैन। यसमा पनि शक्तिकै पहुँच लाग्छ। कम्तीमा न्यून वर्गका लागि सरकारले यस्ता सुपथ मूल्य पसल बाह्रैमास सञ्चालन गर्ने र त्यसमा लक्षित वर्गको पहुँच पुर्‍याउन सक्ने हो भने केही प्रभावकारी देखिएला, नत्र त उस्तै !

स्राेत : आईएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *