नवजात शिशु बिक्री प्रकरणमा चिकित्सक कर्णसहित ३ जनालाई थुनामा राख्न आदेश

तीन जना धराैटीमा रिहा

नवजात शिशु बिक्री गरेको घटनामा मोरङ जिल्ला अदालतले वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णसहित तीन जनालाई थुनामा राख्न आदेश दिएको छ ।

अविवाहित युवतीबाट जन्मिएकाे शिशु  निःसन्तान दम्पतीलाई मोटो रकममा बिक्री गरेको अभियोग लागेका डा. कर्णसहित तीन जनालाई थुनामा राख्न आदेश आएकाे हाे ।

न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले बुधबार डा. कर्णसहित शिशु खरिद गर्ने मोरङ कटहरी–२ आर्दशटोलका सूर्यनारायण राजवंशी र भोजपुर हतुवागढी–४ का गोविन्द राईलाई पुर्पक्षमा थुनामा राख्ने आदेश दिएको हो । ६८ वर्षीय डा. कर्ण कोशी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट हुन् ।

त्यसैगरी उक्त कसुरमा प्रहरी नियन्त्रणमा रहेका कटहरी–२ आदर्शटोलकी ३३ वर्षीया सुधा राजवंशी २ लाख, सिरहाको कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीया नर्स निर्मला यादव १ लाख र कटहरी २ की ४७ वर्षीया दिलमनी देवी राजवंशीलाई १० हजार रूपैयाँ धरौटीमा रिहा गर्ने इजलासले आदेश दिएको छ । सुधा शिशु बिक्री भएको ग्रिनक्रस अस्पतालकी सफाइ कर्मचारी, निर्मला डा. कर्णकी सहयोगी र दिलमनी शिशु किन्ने सूर्यनारायणकी आमा हुन् ।

मोरङ प्रहरीले ५५ दिन अगाडि डा.कर्णसहित ७ जनालाई नियन्त्रमा लिएर अनुसन्धान गरी गत शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा राय पेस गरेको थियो । सरकारी वकिल कार्यालयले गत आइतबार डा. कर्णसहित सबै अभियुक्तविरुद्ध संगठित अपराध, व्यक्ति बेपत्ता र मानव बेचबिखन अपराधमा जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो ।

डा. कर्णले पछिल्लो भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयाको सम्बन्धबाट असार १४ मा ग्रिनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई मोरङको कटहरी गाउँपालिका–२ आदर्शटोलका सूर्यनारायण राजवंशीको निसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पाइएपछि प्रहरीले उनीसहित अपराधमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रूपैयाँ लिएको पुष्टि भएको छ ।

ग्रिनक्रस अस्पतालनजिक रहेको आफनो क्लिनिकमा उपचारका लागि आएकी अविवाहित युवतीलाई ग्रिनक्रस अस्पतालमा सुत्केरी गराएर अस्पतालकी सफाइ कर्मचारी सुधा राजवंशी र नर्स निर्मला यादवमार्फत डा. कर्णले मोरङको कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु ५ लाख रूपैयाँमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको थियो । त्यसअघि डा. कर्णले ती अविवाहित जोडीबाट शिशुको व्यवस्थापन गर्ने जिम्मा लिँदै ३५ हजार रूपैयाँ लिएको प्रहरीको अनुसन्धानले खुलेको प्रहरीको राय प्रतिवेदनमा उल्लेख छ । उनीहरूसँगै पक्राउ परेका ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवासलाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाई उन्मुक्ति दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *