रूससँग युद्धपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पहिलो पटक गरे नाटोको भ्रमण

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार सहयोगी राष्ट्रहरूलाई हतियार अपूर्ति बढाउन आग्रह गरेका छन्। रूसले युक्रेनविरुद्ध चौतर्फी आक्रमण सुरू गरेपछि सैन्य गठबन्धन (नाटो) को मुख्यालयको आफ्नो पहिलो भ्रमणका क्रममा उनले त्यस्तो आग्रह गरेका हुन्।

हमासले इजरायलमा गरेको आक्रमणबाट आफ्नो मुलुकको द्वन्द्वमा मुख्य सहयोगी अमेरिका विचलित हुने त्रासका बीच राष्ट्रपति जेलेन्स्कीले हवाई प्रतिरक्षा, लामो दूरीका मिसाइल र गोलाबारूदका लागि आग्रह गरे।

‘अर्को जाडोमा कसरी बाँच्ने भन्ने कुरा हाम्रा लागि ठूलो हो,’ गठबन्धनका रक्षामन्त्रीहरूसँग भेट गर्नुअघि नाटो प्रमुख जेन्स स्टोलनबर्गसँग मिडियालाई सम्बोधन गर्दै जेलेन्स्कीले भने, ‘हामीले तयारी गरिरहेका छौँ, हामी तयार छौँ, अहिले हामीलाई गठबन्धनका नेताहरूबाट केही सहयोगको खाँचो छ, त्यसैले आज म यहाँ छु।’

रूसबाट हुन सक्ने शीतकालीन हमलाबाट बचाउन युक्रेनको जवाफी हमलालाई बढाउन र हवाई प्रतिरक्षा उपलब्ध गराउने विषयमा ध्यान केन्द्रित गर्दै किएभको अन्तर्राष्ट्रिय समर्थकहरू युक्रेनलाई हतियार उपलब्ध गराउने विषयमा विचारविमर्श गरिरहेका थिए।

‘हामी युक्रेनलाई सहयोग गर्न तपाईँँसँग उभिने छौँ किनकि यो समग्र नाटोका लागि महत्त्वपूर्ण छ,’ स्टोलनबर्गले जेलेन्स्कीसँग भने।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले इजरायलमा देखिएको सङ्कटले आफ्नो मातृभूमिमा चलिरहेको युद्धबाट ध्यान विचलित हुन सक्नेतर्फ चिन्ता व्यक्त गरे।

उनले गत वर्ष रूसी आक्रमणपछि युक्रेनको पक्षमा देखाएजस्तै इजरायली जनताको पक्षमा एकजुट हुन र इजरायललाई ‘तिमी एक्लो छैनौ’ भन्ने देखाउन पश्चिमा राष्ट्रहरूलाई आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *