भेपमा सुन तस्करी प्रकरण : राहुल महरासहित चार जनाविरूद्ध मुद्दा दर्ता

विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरूद्ध मुद्दा दर्ता भएको छ।

प्रकरणको अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को रायअनुसार सरकारी वकिलको कार्यालय काठमाडौंले राहुलसहित चार जनालाई प्रतिवादी बनाएर बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेकाे हो।

पक्राउ परेका तीन र फरार एक जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ।

राहुलसहित सर्लाही घर भई काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ४ सीतापाइला बस्ने ३९ वर्षीय लोकेन्द्रकुमार पौडेल, बेल्जियमका नागरिक ३९ वर्षीय दावा छिरिङ र हाल फरार काठमाडौं महानगरपालिका वडा नम्बर ६, बौद्धका ५७ वर्षीय निमा गुरूङविरूद्ध मुद्दा दर्ता भएको हो।

लोकेन्द्रकुमार सुन तस्करी प्रकरणमा प्रमुख व्यक्ति दाओजिन वाङका सवारी चालक हुन्। दावा ‘ब्रेक शु’ मार्फत तस्करी भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा छन्।

उनीहरूविरूद्ध तीनवटा कसुरमा मुद्दा दर्ता भएको छ। आपराधिक विश्वासघात, भन्सार चोरीपैठारी तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो।

गत पुस १० गते फ्लाइ दुबईबाट आएका चिनियाँ नागरिक ली हाङसनले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन फेला परेको थियो।

८ करोड ५५ लाख २८ हजार तीन सय ७४ रूपैयाँ बराबरको सुन भन्सार कार्यालयबाट चोरी भएपछि यो घटना बाहिरिएको थियो। सीआईबीले अनुसन्धान गरी पाँच जनाविरूद्ध मुद्दा चलाएको थियो।

सुन बरामद गरेपछि राहुल महरा, कृष्णबहादुर महरालगायतले सामान छुटाउन दबाब दिएको खुलेको थियो। उनीहरूको पनि कनेक्सन देखिएपछि सीआईबीले अनुसन्धान गरेको हो।

सीआईबीले राहुल महरालाई पक्राउ गरे पनि पूर्वसभामुख कृष्णबहादुर महरासँग भने कागज मात्रै गरेको छ। तस्करीमा महरा बाबुछोराको समेत कनेक्सन देखिएपछि उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई दबाब परेको थियो। सीआईबीले कृष्णबहादुर महराविरूद्ध मुद्दा चलाउनु नपर्ने राय दिएकाले उनीविरूद्ध मुद्दा दर्ता नभएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *