इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सांसदहरूको माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारसँग माग गरेका छन् ।

उनीहरूले गत शनिबार आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकाको शव यथाशीघ्र स्वदेश ल्याउन तथा घाइते भएका र नेपाल आउन चाहने अन्यलाई तत्काल उद्धार गर्न माग गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद अजुननरसिंह केसीले हमासको आक्रमणबाट ज्यान गुमाएका १० जना नेपालीको शवलाई तुरून्त नेपाल ल्याउन माग गर्दै घाइतेको तत्काल उपचार गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘इजरायलमा कति नेपाली छन ?, कुन अवस्थामा छन् ? सरकारले संसद्मा वास्तविक विवरण सार्वजनिक गर्नुपर्छ,’ उनले भने ।

नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले इजरायलमा उद्धारको प्रतीक्षामा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (माओवादी केन्द्र)का सांसद जर्नादन शर्माले तत्काल कूटनीतिक प्रयास गरी शव ल्याउने व्यवस्था गर्न, बेपत्ताको खोजी, घाइतेको उपचार र नेपाल आउन चाहनेलाई स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (एमाले) का सांसद ईश्वरबहादुर रिजालले पनि इजरायलबाट घर आउन चाहने नेपालीलाई तत्काल उद्धार गर्न र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

यसैगरी सांसद चित्रबहादुर केसीले इजरायलमा उद्धारको प्रतीक्षामा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउन सरकारसँग माग गरे । सांसदहरू अञ्जनी श्रेष्ठ, अनिसा नेपाली, अब्दुल खाण, अमनलाल मोदी, अमरबहादुर रायमाझी, अमृतलाल राजवंशी, असिम साह, ईश्वरी घर्ती, उर्मिला माझी, किरणकुमार साह, गीता बस्नेतले इजरायलमा तीन दिनदेखि उद्धारको प्रतीक्षामा बसेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर