मन्त्रिपरिषदको निर्णय

इजरायलमा १० नेपालीकाे मृत्यु : सरकारद्वारा राष्ट्रिय शाेक* घाेषणा, मृतकका परिवारलाई १०-१० लाख

सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थी सम्मानमा राष्ट्रिय शाेक घाेषणा गरेकाे छ । उनीहरूको सम्मानमा मंगलबार राष्ट्रिय झण्डा आधा झुकाइने छ । ‘यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

यस्तै मृतकका प्रतिपरिवारलाई १०-१० लाख रूपैयाँ दिने निर्णय पनि गरिएको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले हमासको आक्रमणमा ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भएको छ । ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन् ।

राजदूतावासका अनुसार ४ जना घाइते छन् भने एक जना सम्पर्कविहीन छन् ।

यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि त्यहाँ रहेका विद्यार्थी विपिन सुवेदीसँग भिडियो वार्ता गरेका थिए।

*यसअघि मन्त्रीले दिएकाे जानकारीमा आधारित भई सार्वजनिक बिदा भन्ने पर्न गएकोमा क्षमायाचनासहित सच्याएका छौं। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *