इजरायलकाे बंकरबाट नेपाली विद्यार्थीहरूको याचना- हमलामा परे गोली खानुको विकल्प छैन, देश फर्किने वातावरण मिलाइदिनुहोस्

युद्धग्रस्त मुलुक इजरायलमा फसेका नेपाली विद्यार्थीहरूले सरकारसँग जीवन रक्षा तथा स्वदेश फर्किने वातावरण मिलाइदिन माग गर्दै याचना गरेका छन् ।

बंकरमा लुकेर बसेका उनीहरूले सामाजिक सञ्जालमा लाइभ आएर तथा प्रधानमन्त्रीलाई खुलापत्र लेखेर यस्ताे माग गरेका हुन्।

बंकरमा लुकेर बसेका दाङका विपिन सुवेदीसहित केही विद्यार्थीहरूले सामाजिक सञ्जालमा लाइभ आएर आफ्नो जीवन रक्षाका लागि सरकारलाई आग्रह गरेका छन्।

यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट अध्ययनका लागि हाल कादेश बर्निया, इजरायलमा रहेका कास्कीका सूरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेखेका छन् ।

अहिले बंकरमा लुकेर बसेका उनले हमलामा परे गोली खानुको विकल्प नरहेको भन्दै यथाशीघ्र देश फर्कने वातारण मिलाइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

उनले तीनवटा विश्वविद्यालयका विद्यार्थीहरू त्यहाँ रहेको र अबको हाम्रो आशा र भरोसा प्रधानमन्त्री नै रहेको भन्दै आफूहरूलाई देश फर्काइदिन माग गरेका छन् ।
आफूहरू अहिले भोकप्याससँग जुधिरहेको तर युद्धका कारण बाहिर निस्कन सक्ने अवस्था नरहेको उनले पत्रमा उल्लेख गरेका छन् ।

‘लुकेर बसेका हामीहरू खाना र पानीको समस्यामा जुध्नु परेको छ । नखाऊँ भने भोक र प्यास लाग्छ, खाऊँ भने बाहिर शौचालय जान डर लाग्छ,’ उनले लेखेका छन्, ‘आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर भइराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ, हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ ।’

यस्ताे छ पत्र :

श्रीमान् प्रधानमन्त्रीज्यू,
नेपाल सरकार ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिनै लागेका विद्यार्थीहरू ११४ जना अहिले हामी इजरायल र हमासको द्वन्द्वको चपेटामा फसेका छौं । ११ महिनामा यस देशबाट केही सीप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किँदै गइराखेको छ । हाम्रो आत्मबल घट्दै गइराखेको छ । हामी मानसिक तनावमा पुग्न आँटिसकेका छौं । अब धेरै सोच्ने परिस्थिति पनि बाँकी रहेन ।

आकाशमा चरा उडेको देखेको हामी आज मिसाइल र फाइटर प्लेन देख्नु परेको छ । तिहारमा पटका खुसीका साथ रमाउँदै हेरेका हामी आज आफू अगाडि बन्दुक पड्किराखेको देखेर त्रसित छौं । बंकरमा लुक्यो भन्ने बंकरभित्र नै छिरेर आक्रमण भइराखेको छ । हाम्रा सुदूरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले छाती चिरिएको छ । हामी स्तब्ध छौं, हमलामा पर्‍याे भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामीहरू खाना र पानीको समस्यामा जुध्नु परेको छ । नखाऊँ भने भोक र प्यास लाग्छ, खाऊँ भने बाहिर शौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर भइराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ, हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ ।

आदरणीय प्रधानमन्त्रीज्यू, अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् हामी देशमा नै रमाउने छौं ।

हामी नेपालको ३ विश्वविद्यालयबाट यहाँ छौं ।
१) कृषि तथा वन विज्ञान विश्वविद्यालय
२) त्रिभुवन विश्वविद्यालय
३) सुदूरपश्चिम विश्वविद्यालय

सँगसँगै यहाँ अन्य विद्यार्थीहरू र नेपाली नागरिक हुनुहुन्छ, छिटोभन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीको प्रत्याभूति तपाईंले अवश्य गराउनु हुनेछ यो हाम्रो तपाईंप्रतिको विश्वास हो, यही विश्वासमा नै हाम्रो सास अडिएको छ ।

युद्धको चपेटामा परेका नेपाली,
सूरज भण्डारी,
कृषि तथा वन विज्ञान विश्वविद्यालय ।

हाल ठेगाना- कादेश बर्निया, इजरायल
+९७२५१२८२५१६६
नेपाली ठेगना- अन्नपूर्ण गापा-२, कास्की ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *